बा !
हिजोसम्म तपाईंको छोरो
सुनको थालमा
सुनको चम्चाले
सुन खान्थ्यो
तर आज
स्टिलको थालमा
स्टिलको चम्चाले
स्टिल पनि खान नपाउने भयो ।
बा ! हिजोसम्म
मैले टेलिफोनको पैसा नतिर्दा
फोनको लाइन पैसा तिर्नेको काटिन्थ्यो
मैले बिजुलीको बिल भुक्तानी नगर्दा
लोडसेडिङ, भुक्तानी गर्नेकहाँ हुन्थ्यो
तर आज
मैले पैसा नतिरे
टेलिफोन मेरै काटिने भयो
मैले बिल भुक्तानी नगरे
लोडसेडिङ मैकहाँ हुने भयो ।
बा ! हिजोसम्म भएभरको पानी
मेरो धाराबाट खस्थ्यो
दुनियाँको धारामा
खानेपानीको बिल पंखाले हम्केर बस्थ्यो
जब मेरो योजना आज
अलिकति तलमाथि पर्यो
खानेपानी संस्थानले
मेरो धारामा पनि पंखा जडान गर्यो ।
बा ! आज मलाई
मुख नभएकाहरू पनि गाली गर्छन्
आँखा नभएकाहरू पनि आँखा तर्छन्
खुट्टा नभएकाहरू पनि लात्ती उजाउँछन्
हात नभएकाहरू पनि धारेहात लाउँछन् ।
बा ! हिजोसम्म मलाई देखेर
कुकुरका पुच्छरहरू हल्लिन्थे
तर आज
कुकुरका पुच्छरहरू देखेर
म आफैं हल्लिन्छु ।
बा ! हिजोसम्म मलाई हेर्दाहेर्दै
टेलिभिजनहरू 'फेन्ट' हुन्थे
आज टेलिभिजन हेर्दाहेर्दै
म फेन्ट भएँ ।
बा ! हिजोसम्म
मेरा जुत्ताका तुनाले
झुन्डाउनका लागि
थुनिएका मान्छेका घाँटी नियाल्थे
तर आज
थुनिएका मान्छेका जुत्ताका तुनाले
मेरो घाँटी नियाल्न थाले ।
बा ! हिजोसम्म मलाई जजसले
ज्यान दिन्छु, ज्यान दिन्छु भनिरहे
तर केको मलाई दिन्थे
आफ्ना आफ्ना ज्यान आज
आफैं आफैंले बोकेर गए ।
बा ! हिजोसम्म आदेश
म दिँदै थिएँ सहिद बनाउन
आज आदेश
सहिदहरू दिँदै छन् मलाई बनाउन ।
बा ! यस अन्तिम घडीमा
मेरो मनले मसँग
'रुन्छु' भनेर हत्ते गर्यो
रुनका लागि आँसुको ग्रन्थि चाहिँदोरहेछ
त्यो मसँग छैन कता झर्यो झर्यो ।
बा ! त्यसैले
रुनका लागि तुरुन्तै
दुईचार माना आँसु पठाइदिनुपर्यो ।
- अर्जुन पराजुली
काठमाडौं
(२०६३ जेठ १४ को कान्तिपुरबाट साभार)
5.30.2006
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment