विमानको मूलद्वार नजीकै अंग्रेजी अक्षरमा त्यसको नाम लेखिएको छ - नाखोन नायोक । त्यस नामले बैंकक नजीकै रहेको नाखोन नायोक शहरका ताजा यादहरुको सम्झना गरायो । सम्झें ती धनाढ्य व्यक्तिलाई, जसले दिनैभरि अटूट मदिरा सेवन गरेका थिए । नशामै उनले मलाई आफूसँगै बैंकक लाने कुरो गरे । आफ्नी २४ वर्षीया छोरीले बेलायत जाने तयारी गरिरहेकी र उसलाई मबाट केही मद्दत हुनसक्ने सम्भावना देखाए । सम्झें ती चालीसे जोवनमा प्रवेश गरेर पनि अझै अधवैंशे जस्ती देखिने महिलालाई, जसले जीवित गोब्रेकीरालाई मेरै सामु स्वाद लिईलिई चपाउँदै सुलुक्क निलेकी थिइन् । अनि मेरी मातातुल्य अर्की महिला - जसले मेरो लागि रंगमंचमा एउटा थाई गाना गाएकी थिइन् । त्यस्तै एउटा महिलापुरुषको आलिंगनबद्ध जोडी, जसलाई मानौं कुनै चुम्बकीय शक्तिले बाँधेको थियो, ती अंग्रेजी भाषामा गाउँदै थिए - अब रात पर्न लाग्यो, एक्लै सुत्ने मलाई चाहना छैन! त्यहीं हो मैले जीवनमा पहिलो चोटि भ्यागुताको मासु चाखेको । मैले मुख बिगारी-बिगारी भ्यागुता निल्दा मेरा मित्रले मलाई गिज्याएका थिए - आखिर भ्यागुता भनेर किन घिनाउँछन् मान्छेहरु? हुनसक्छ प्राणीहरुमा सबैभन्दा सफा जाती नै भ्यागुता हो । यो जीउँदा कीराफट्यांग्रा खान्छ, मृत केही खाँदैन! त्यहीं हो मैले झरना हेर्न जाँदा खोलामा पानी सुकेकोले ढुंगा र बगर मात्र भेटेर खिन्न हुनुपरेको । त्यहीं हो म ख्लोङ था दान भन्ने विशाल बाँधमा रमेको रमाएको । त्यसै बाँधको फेदमा भएको तातोपानीको फोहोराको मलाई टीठ लागेको थियो । यस मरुभूमिको जस्तो हपहप गर्मीमा तातोपानीको के महत्व? सम्झें हाम्रै कोदारीको तातोपानी, चिलिमे र टिमुरेको तातोपानी, म्याग्दी-सिंगाको तातोपानी । त्यस्तो लेकाली हावा पाए मानिस पक्कै पनि तातोपानीको पूजा गर्ने थिए । तर नाखोन नायोकमा तातोपानी बिलकुल बेवारिस लाग्दथ्यो । सम्झें नाखोन नायोकमा साँझ बिहान भोजन गरेको प्रख्यात सिडा रिजोर्टलाई, जुन मेरो जीवनकै पहिलो रिजोर्ट-अनुभव थियो ।
अब के? समय बितिसकेको थियो । यस खोक्रो विमानमा बस्दा नाखोन नायोक सम्झनामा कैद भइसकेको थियो । विमान काठमाडौंतर्फ उडानको तयारी गर्दै थियो । ढोका लागिसकेको थियो । ईन्जिन संचालन भइसकेको थियो । हातमा बैंकक पोष्टको ताजा प्रति थियो । त्यसको प्रथम पृष्ठमै रक्तपातको एक विभत्स तस्वीरलाई आधार बनाएर आधा पृष्ठ ढाक्ने गरी त्यस दिनको प्रमुख समाचार बनेको थियो नेपालको सन्दर्भ, नेपालको हिजोभन्दा आजको बिग्रँदो परिस्थिति । विदेशी संचार माध्यमले गरेको यस किसिमको भयावहक प्रचारको कारण पर्यटकले नेपाल जानै छोडिसकेका थिए । त्यसैको प्रमाण थियो अरु बेला खचाखच भरिने आजको अर्ध-खाली यो थाई विमान । मेरो छेउमा बसेका वृद्ध फ्रान्सेली दम्पत्तिले नेपालमा हुने दैनिक हडताल, हिंसा र कर्फ्युको खबर सुनेर आफ्नो भ्रमण अवधि छोट्याइसकेका थिए । त्यहाँ प्रदर्शनकारीहरु राजा मास्ने प्रयत्न गर्दैछन् रे । त्यसैको प्रतिकारमा सरकारले निर्ममतापूर्वक आन्दोलनमाथि दमन गरिरहेको छ रे । यस्तो विकराल अवस्थामा नेपाल कसैलाई जानु थिएन । नेपालमै भएकाले जतिसक्दो चाँडो त्यहाँबाट उम्केर अरु सुरक्षित स्थानमा पुग्नु थियो, आ-आफ्नो गृह मुलुक फर्किनु थियो ।
"सर, तपाईं के पिउने इच्छा गर्नुहुन्छ?" मेरो कानमा मुस्काउँदै त्यसै विमानकी थाई होस्टेस बोल्छे । अग्लो कदकी सुन्दरी, उसले लगाएको गुलाबी पोशाकसँग उसको अनुहारको चहक कस्तो जोडा मिलेको!
"छ भने ह्वाइट वाइन!"
"किन नहुनु!" ओठले मुस्कान फर्काउँछे, हातले मेरो पेय तयार पार्छे । अनि ट्रली धकेल्दै अरु यात्रीको सेवामा ऊ बिलाउँछे । मेरो गिलास आधा भएपछि ऊ टुप्लुक्क देखा पर्छे र फेरि सोमरस भरिदिन्छे ।
"तिमीलाई दिदी भनौं है!" कुरा गर्ने बहाना निकाल्छु ।
"नाइँ! मलाई बहिनी भनेको मनपर्छ ।" उमेरले वयस्क लागे पनि उसले मभन्दा सानी बन्न रुचाई । "ल ठीक छ, बहिनी नै सही!"
"उसो भए तिम्रो नाम के हो?" मेरो स्वाभविक जिज्ञासा । तर मलाई उसको नामको उच्चारण निको लाग्दैन, नेपालीमा 'गुहु' भने जस्तो सुनिने । म उसलाई बहिनी नै भनेर सम्बोधन गर्ने भएँ ।
"बहिनीको घर कहाँ नि ?"
"बैंकक ।"
"यस जहाजको नाम नाखोन नायोक है?"
"हो त! कसरी याद गर्यौ? साह्रै चलाख रहेछौ!"
"तिमीलाई थाहा छ, म नाखोन नायोक पुगेको छु नि! त्यहाँको प्रख्यात बाँध मैले देखें । झरना पनि हेर्न गएको, तर सुक्खा रहेछ!"
"ओहो, अरु कहाँकहाँ पुग्यौ?"
"कुरै नगर । बरु तिम्रो देशमा कहाँ पुगिनँ, त्यो सोध । पट्टाया गएँ, नाखोनसीठमाराट र क्राबीका समुद्र देखेर लट्ठै परें, चियङमाईको सोङ्क्रान पर्वमा निथ्रुक्कै भिजें, बर्मा र लाओसको सिमानासम्म पुगें, झण्डैले क्याम्बोडियाको सिमाना पनि छोएको!"
"घुमफिर गर्नमा त माहिर रहेछौ । विदा मनाउन आएको?"
"हो, त्यस्तै भन्नुपर्यो!"
होस्टेसलाई मेरो गफमा भुल्ने फुर्सत छ । विमानमा धेरै यात्री छैनन् । भए जतिको सेवामा अरु होस्टेस पनि खटिएका छन् । द्रुत गतिमा विमान आधा आकाशमा वेगिँदै छ । लाग्छ, अब पछडि छुटेको सिंगो थाइल्याण्ड मेरो लागि यही विमान र होस्टेसभित्र सीमित भएको छ । पट्टायाको रंगीचंगी, बैंककको व्यस्तता र रमझम, दक्षिणको प्रचण्ड गर्मी र उत्तरको मनोरम हरियाली, लाग्छ मलाई छोडेर कतै विस्मृतिको पर्दाभित्र लुक्न खोज्दैछन् ।
होस्टेस भन्छे - "तिमी थाई भाषा कति राम्रो बोल्ने भइसकेछौ!"
म भन्छु - "त्यो तिमीले मलाई फुर्काउन भनेकी हौ । तर ठीक हो, धेरै समय मैले थाई भाषा सुनेर मात्र चाहिं बिताएँ । भाषामा मेरो विशेष रुचि भए पनि तिम्रो भाषा कस्तो गाह्रो छ । थाहा छ, एक चोटि मैले 'चीज' भन्छु भन्दा के भनें?"
"के भन्यौ?"
"लवज लम्बिएर अर्कै अर्थ लाग्न गएछ, सब मुर्छा परेर हाँस्न थाले नि!" उसले पनि हाँसो थाम्न सकिन । "हैन, कस्तो त तिमीहरुको भाषा - शब्द एउटै, उच्चारण फरक । 'चीज' र 'शीट्' पनि एउटै शब्द रे!"
ऊ बेलाबेला हराउँछे । तर खाने कुरा लिएर फेरि तुरुन्त हाजिर हुन्छे । अनि आफ्नो हातले मलाई खुवाउने विशेष चाहना गर्छे । सोध्छे - "आरोई माई (मीठो छ)?"
म उसले सुन्न खोजेकै जवाफ दिन्छु - "आरोई माक् (असाध्यै मीठो)!"
फेरि ऊ एकछिन हराउँछे । फर्कँदा उसको दायाँ हातमा दक्षिणी थाइल्याण्डका तीन सुन्दर पोस्टकार्डहरु हुन्छन् । त्यही हात मतिर लम्काउँदै भन्छे - "तिम्रो लागि, मेरो तर्फबाट विशेष उपहार!"
"खप खुन माक् (धेरै धन्यवाद)! ढुक्कै भई बस, अब यी पोस्टकार्डहरुले सधैं मलाई तिम्रो याद दिलाउनेछन् ।" पोस्टकार्डमा तिनै दृश्यहरु छन् जुन मैले क्राबी प्रान्तमा आफ्नै आँखाले देख्न पाएको थिएँ - मनमोहक समुद्री तट, टापुहरु, हरियाली, सागर र सगरलाई एकै रेखामा जोड्ने नीलो क्षितिज! मैले पहाड र हिमालमाथि आकाश टुसुक्क बसेको अनेकौं पटक देखेको थिएँ । अहिले त्यही आकाशले समुद्रमा डुबुल्की मारेको दृश्य पनि कम रोमान्चक थिएन ।
होस्टेस फेरि हराउँछे । यस पटक म नै उसको खोजीमा खुट्टा तन्काउने निहुँले निस्कन्छु । ऊ आफ्ना सहकर्मीहरुको माझमा बसेर भोजन गर्दै पनि छ, नरम आवाजमा तिनीहरुसँग भलाकुसारी गर्दै पनि छ । लाग्छ, ऊ तिनीहरुलाई मेरै विषयमा केही सुनाउँदै छ ।
"आरोई माई?" म चोर बिरालोको चालमा उसले थाहा नपाउने गरी पछाडिबाट सोध्छु । एकछिन ऊ झस्किन्छे, तर तुरुन्तै सम्हालिएर फेरि मुसुक्क हाँस्छे । उसका साथीहरु पनि मलाई मृदु मुस्कानले अभिवादन गर्छन् । जसले भने पनि थाइल्याण्डलाई नजानेर मुस्कानहरुको देश भनेको होइन रहेछ ।
"आरोई, आरोई!"
सिनेमा देखाउने पर्दामा उडानको मार्गचित्र प्रदर्शन हुन्छ । विमान ओरालो लाग्छ । अब झ्यालबाट देखिने साह्रा दृश्यहरु चिरपरिचित लाग्छन् । तिनै डाँडाकाँडा, हिमचुली, नदीनाला, हरियाली, उपत्यका । काठमाडौं अवतरण गर्न लाग्दा कोटेश्वर-भक्तपुर सडकखण्ड स्पष्ट चिनिन्छ, तर त्यो शून्य छ । त्यसै गरी अघिपछि निकै व्यस्त रहने सिंगो शहरमा लाग्छ अहिले मसानघाटको शून्यता छाएको छ । रातको अँध्यारोमा, दिनको उज्यालोमा, दिनहुँदेखि लागेको कर्फ्युले काठमाडौं विमानस्थलमा हाम्रो स्वागत गर्छ ।
देख्छु, टाढा ढोकामा उभिएर होस्टेस मलाई हेरिरहेकी छ र सवादी (नमस्ते) का दुई हात जोडेर यात्रीहरुसँग विदा माग्दैछ । मेरो उससँग विदा हुने पालो आउँदा पनि उसले मुस्काउन छोडेकी छैन, मेरो मनको शून्यतलाई खिसी गरेकी हो कि जस्तो गरेर । बरु जोडिएका आफ्ना दुई हात छुटाएर मेरा हातहरू समाउँछे - शायद आफ्नो पेशागत मर्यादा र अनुशासनबाट केही पर हेटर । लाग्छ - उसको आँखामा बिछोड र वेदनाको अव्यक्त भाव कतै लुकेको अवश्य छ, तै उसको ओठमा मुस्कान खाली छैन । भन्छे - "आउँदै गर है!"
11.09.2006
आरोई माई ?
दुई महीने थाइल्याण्ड भ्रमणको पुछारमा आएर दोन मुअङ विमानस्थलमा यात्रा भर्न तयारी गरिरहेको थाई एअरवेजको भीमकाय विमानमा प्रवेश गर्दा महसुस भयो समय कति छिट्टै बितेछ । सम्झें - शायद दोन मुअङसँगको यो मेरो अन्तिम भेट हो । अर्को पटक मलाई बैंककको अर्कै नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले स्वागत गर्नेछ । भौतिक विकासको चरमचुलीमा पुगिसकेको बैंकक जस्तो शहरमा अब दोन मुअङ साँघुरो र पुरानो शैलीको भइसक्यो, र शायद त्यसैले यसको मिति पनि टुप्किसक्यो । सम्झें - शायद दोन मुअङको पतन प्रकृया पनि अब टाढा छैन । यस्तो कल्पनाले मात्र पनि मलाई नमीठो पीडाबोध भयो । तर के अर्थ यस्तो पीडाको, एक टुक्रा जमीनको लागि, जहाँ मेरो आफ्नो भन्नु केही छैन!
Subscribe to:
Post Comments (Atom)
2 comments:
लभ् गर्न त कसैले हाम्रो हिक्कु गुरुसँगै सिकोस् ...
ओ हो हिक्मत दाईको त "आरोई माई" सँग निक्कै नि राम्रो सम्बन्ध रहेछ नि होउ!
Post a Comment