11.18.2006

हिमाली चरा

प्रिय हिमाली चरा,

लौ न, कहाँबाट थालनी गरौं हामीहरुको छोटै भए पनि लामो कथा र लामै भए पनि छोटो कथा? तिमीलाई मैले यस्तो समयमा भेटें जति बेला बैंकक राजनैतिक दलदलमा फसेको थियो । तिमीलाई थाहा छ, हाम्रो प्रधानमन्त्री भनाउँदो भ्रष्टाचारी थाक्सिन - त्यसले झण्डै हाम्रो देश बेचेको । त्यसको कारणले हामी झन्डै भूमिविहीन र शरणार्थी बन्नुपरेको । प्रधानमन्त्री जस्तो गरिमामय पदको दुरुपयोग गरेर त्यसले देशको भविष्य अँध्यारो पार्ने काम बाहेक अरु केही गरेन । धनको खोलो बगाएर चुनाबी भोट त किन्यो, तर जनताको मन जित्न सकेन । जति-जति सत्तामा त्यो बासी हुँदै गयो, त्यति-त्यति त्यसप्रति जनताको मनमा घृणा बढ्न थाल्यो ।

म प्रजातन्त्रमा विश्वास गर्ने एक आधुनिक नारी । अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार - यस्ता विकृतिको विरोध गर्न पाउनु मेरो नागरिक हक हो । हामी तयार छैनौं एउटा खराब शासकको बन्दी बनेर वर्षौं पुरानो आफ्नो स्वतन्त्र पहिचान र अस्तित्व गुमाउन ।

तिमी बैंककमा अवतरण गर्दा म थाक्सिन विरोधी जुलुस र आमसभामा व्यस्त थिएँ । मेरो आफूभन्दा ठूलो विद्रोही स्वभावले झन्डै जागीर पनि गयो । तर मलाई त्यसको पर्वाह थिएन । म मेरो देशको लागि जे पनि गर्न तयार छु । यति विशाल देशमा म के हूँ र - फिस्टेचरीभन्दा पनि सानी नारी । तर यदि देश रहँदैन भने मेरो जीवनको के अर्थ? त्यसैले लडेर वा मरेर मेरो देश बाँच्छ भने म संघर्षमा उत्रन वा वलि चढ्न तयार छु । मलाई भोक, निद्रा, जागीर, परिवार र यहाँसम्म कि तिम्रै मित्रताको पनि मतलब छैन । अहिले मेरो लागि थाक्सिन विरोधी आन्दोलन जति महत्वपूर्ण कुरा केही छैन ।

तिमीले मलाई फोन गर्दा रात ढल्किसकेको भए पनि म भरखर नगरबस चढेर घरतिर जाँदै थिएँ । तिम्रो फोन कति बेला आउँछ भनेर दिनभरि कुरेँ । जब तिम्रो जीवन्त आवाज मेरो कानमा गुन्जियो, लाग्यो कति मोहनी र भलाद्मीपन छ तिम्रो बोलीमा । सपनामा पनि पछ्याउन छाडेन मलाई, तिम्रो सुमधुर बोलीले । जति बेला बिहान भयो, म हतारिएँ, मेरो धैर्यको सीमा टुट्यो । मलाई एक एक छिन कुर्दा पनि एक जुग बिते जस्तै लाग्यो । कति व्यग्र थिएँ म तिमीलाई भेट्न!

जति बेला हाम्रो भेट भयो, म तिम्रो आँखामै हराएँ, अँगालोमै बिलाएँ । तिमीसँगै बसेर खाएको बिहानको खाजा असाध्यै रुच्यो । मैले दिनैभरि तिमीले दिएको खास्टो ओढिरहेँ, तिमीलाई सम्झिरहेँ । तर कस्तो विडम्बना, कति छोटो हाम्रो भेट - धीत मर्ने गरी बातचित गर्न पनि नपाइने । हामी कस्तो हतार र बेफुर्सदको जिन्दगी जिउँछौं है!

तिमीसँग छुट्टिएपछि नियास्रो त लाग्यो नै, तर त्यसभन्दा ज्यादा खुशी हाम्रो पुनर्मिलनको आशामा लाग्यो । एक हप्तापछि जब मैले तिमीलाई हुवालम्पोङ रेल स्टेसनमा स्वागत गरेँ, त्यसपछि शुरु भए मेरा स्वर्णिम पलहरु । म जान्दिनँ के जादू थियो तिम्रो उपस्थितिमा जसको कारणले मेरो अधुरोपन पूरो भए झैं लाग्थ्यो । तिम्रो हात समाएर बैंकक शहर घुमाउन पाउँदा, तिमीलाई सँगै राखेर खुवाउन-चुठाउन पाउँदा कुनै पवित्र कार्य गरे जस्तो लाग्थ्यो । याद छ, कति ठाउँमा त मैले तिमीलाई विदेशी होइन भनेर झुक्याइदिएँ नि! त्यसो त तिमी मेरो लागि विदेशी हुँदा पनि होइनौ ।

म कसरी बिर्सूँ हामीले सँगै बिताएको एक मात्र त्यो पहिलो अनि अन्तिम रात! त्यो रात्रीबसको लामो सफर - त्यस्ता पट्यार लाग्दा लामा सफरहरु मैले कति गरेँ कति । तर तिम्रो साथमा यात्रा गर्दा जीवनमा पहिलो चोटि त्यस्तो यात्रा नटुंगिए हुन्थ्यो जस्तो लाग्यो । तिमीले रातभरि मेरा हातहरु सुमसुम्याउँदा ती हातहरु नछुटिदिए हुन्थ्यो जस्तो लाग्यो । तिम्रो कुममा निदाउन पाउँदा त्यसै गरी बाँकी जिन्दगी कटिदिए हुन्थ्यो जस्तो लाग्यो । र जब तिमीले मलाई पहिलो पटक निधारमा चुम्यौ, त्यस बेला मेरो आँखाबाट छताछुल्ल भएको प्यारले पूरा बस नै भरियो । म आँखा चिम्लिन बाध्य भएँ । अहिलेसम्म मैले गरेको माया एकोहोरो हो कि भन्ने सम्झन्थेँ । तिमीले आफ्नो ओठबाट मायाको एक शब्द उच्चारण नगरेसम्म म तिमीलाई मेरो आँखामा भरिएको तिम्रो माया देखाउन चाहन्नथेँ ।

तर तिमीले त अचम्मै गर्‍यौ! त्यति दिन सँगत गर्दा पनि, त्यति सुन्दर र रोमान्टिक ठाउँहरुमा सँगै घुम्दा पनि तिमीले सधैं एउटै कुरा भन्यौ - भनाइभन्दा गराइको भाषा चर्को हुन्छ । होला, पुरुषहरुको लागि । तर हामी स्वास्नीमान्छेलाई गराइको भाषाले मात्र पुग्दैन । हामीलाई शब्दको भाषा पनि उत्तिकै चाहिन्छ । जब दुनियाँले हामीलाई प्रेमी-प्रेमिका ठहरायो, जब तिम्रै आँखामा त्यो गहिरो प्यार प्रष्ट झल्किन्थ्यो, जब तिम्रै गतिविधिहरुमा त्यसै प्यारले ओतप्रोत भएको आचरण थियो, तब किन मौन थिए तिम्रा ओठहरु? तिमीले प्यारको एक शब्द उच्चारण गरी हेर्नु मात्रै पर्थ्यो - म त्यसै बेला तिम्रा ओठहरु चुमिदिने थिएँ । तर त्यस्तो संकेत तिमीबाटै पहिले नआएसम्म म कसरी आश्वस्त हुने तिम्रो प्यारमा, कसरी मान्ने आफूलाई तिम्री प्रेमिका? तिमी नै भन ।

मैले तिमीबाट जे सुन्न चाहेँ त्यो त तिमीले भनेनौ, या भन्न जानेनौ नै । तर पनि तिम्रो मायालु स्वभाव र 'प्रियतमा' को सम्बोधन विशेष मनपर्‍यो । तिमीलाई हुवालम्पोङ पुर्‍याउन जाने दिन तिम्रै लागि भनेर बिहान चाँडै उठेँ । तिमीलाई फोन गरेँ । तिमी बिउँझिसकेका रहेछौ । त्यस बेलाको तिम्रो बोली अझै पनि अमृतवाणी जस्तै कानमा गुन्जिरहन्छ - प्रियतमा, आजको दिन म तिम्रै आवाज सुनेर शुरु गर्न चाहन्थेँ । स्टेसनतिर जाँदै गर्दा तिमीले मलाई दोस्रो र अन्तिम चोटि चुम्यौ । म पग्लिएँ तिम्रो अनौठो मायामा । तर बुझिनँ तिम्रो माया गर्ने शैली । हामी स्वास्नीमान्छे मायाका भोका हुन्छौं । माया जस्तो कुरा हामीलाई ईशारा गरेर मात्र पुग्दैन, हामीलाई भनेर पनि सुनाउनुपर्छ - एक बार होइन, बारबार! राम्रो कुरा गर्दा पाप लाग्दैन ।

जुन स्टेसनमा तिमीलाई लिन आएकी थिएँ, त्यहीं तिमीलाई बिदाइ गर्न जानुपर्दा मन भारी भएको थियो । मलाई बिदाइको पल पटक्कै मन पर्दैन । मैले चाहे जस्तो हुने भए म तिमीलाई कहिल्यै बिदा गरेर टाढा पठाउने थिइनँ । रेलभित्र तिम्रो सिट अर्को विदेशीले ओगटेको देख्दा पहिले उसलाई आफ्नो सिटमा फर्कन विनम्र अनुरोध गरेँ, नमानेपछि मेरो विद्रोही स्वभाव फेरि उर्लेर आयो र फिस्टेचरी नै भए पनि त्यस पहलमानसँग लडेर तिम्रो सिट खोसेँ । सेतो छाला हुँदैमा अर्काको ठाउँ हडप्न पाइन्छ? तिमी भन्थ्यौ म हाँसिरह्न्छु मात्रै । र शायद मेरो विद्रोही र रिसाहा रुप तिमीलाई अनौठो लाग्यो होला । तर मैले माया गरेको व्यक्तिमाथि कसैले अन्याय गरोस् - त्यो म सहन सक्दिनँ ।

तिमी गएपछि तिमीलाई मबाट छुटाएर लैजाने त्यस निष्ठुरी रेलसँग एकछिन झोक चल्यो । तिमी गयौ र मेरा खुशीका क्षणहरु पनि तिमीसँगै गए । त्यस व्यस्त स्टेसनको हल्लीखल्ली सुनसान झैं लाग्यो । अनि तिमीमाथि प्रत्यक्ष रुपमा खन्याउन नपाएको माया मेरो हाते फोनमा भएको तिम्रो तस्वीरमाथि वर्षियो ।

तिमीलाई सम्झँदै बिउँझनु र निदाउनु, तिम्रो सम्झनामा दिन कट्नु र तिम्रै सपनामा रात बित्नु - किन मेरो दिनचर्यामा तिमी नै तिमी छाउन थाल्यौ? एकाएक यो के गरिदेऊ तिमीले मलाई? किन यस्तो उथलपुथल मचियो मेरो जिन्दगीमा? किन यति धेरै परिवर्तन भएँ म? किन म त्यही व्यक्ति होइन जो तिमीलाई भेट्नु पहिले थिएँ? तिमी त मेरो नसानसामा रगत भएर बग्न थाल्यौ । माया त मैले अरु पुरुषलाई पनि गरेँ, तर यति गहिरो माया शायद जीवनमा पहिलो पटक गर्दैछु ।

तिमी गएपछि बैंककमा थाक्सिन विरोधी आन्दोलन चर्कियो । प्रदर्शनकारीहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भयो । हाम्रो आफ्नै स्याटलाइट प्रसारण आरम्भ भयो । आन्दोलनको अग्रपंक्तिमा उभिँदा कति चोटि म टिभीमा देखिएँ पनि । थाक्सिन सरकारको कालो सूचीमा परेँ पनि । थाक्सिनका पुलिसहरुले आन्दोलनलाई तितरबितर पार्न खोज्दा झण्डै मारेनन् ।

यसरी खतरा मोलेर आन्दोलनको मोर्चामा उत्रँदा मेरो मर्ने-बाँच्ने ठेकान छैन । तिम्रो हिजोमा म थिइनँ नै, भोलिमा पनि नरहूँला । तर तिम्रो आजमा त मलाई अटाउने सानो ठाउँ छ होला नि? तिमी किन बुझ्दैनौ यो कुरा? जबसम्म म जिउँदै छु, म तिम्री भएर बाँच्न चाहन्छु । म यसरी तडपिँदै गर्दा, तिम्रो प्यारमा झन्डै निसास्सिएर मर्दा, तिमी किन अपनाउन सकिरहेका छैनौ मलाई? मेरो लागि वर्तमान जस्तो ठूलो समय केही छैन । तिमी किन बेवास्ता गरेर बसिरहेका छौ यो सुनौलो वर्तमानलाई?

तिम्रो व्यक्तित्व नै त्यस्तो भ्रामक छ । घरी मनको दैलो उघारे जस्तो गर्छौ । म निसंकोच तिम्रो मनभित्र प्रवेश गर्छु । घरी एकाएक मनको दैलो थुनिदिन्छौ । म रनभुलमा पर्छु, बाटो बिराएँ कि जस्तो लाग्छ । त्यसैले एक चोटि इमान्दार भएर भन, म तिम्रो अन्तस्करणको सच्चाइ जान्न चाहन्छु । यदि तिम्रो मनमा मेरो लागि बास छैन भने त्यही सही । जहाँसम्म मलाई लाग्छ, तिमी पनि मलाई उत्तिकै माया गर्छौ । तर त्यस सत्यलाई पहिले तिमीले स्थापित गर्नुपर्‍यो नि! भन त, आफ्नो प्यारलाई स्वीकारेर दुनियाँमा कोही सानो भएको छ?

तिमी भावुक छौ । नरम र संवेदनशील छौ । स्त्री जातिलाई मनपर्ने धेरै गुण तिमीमा छन् । तिम्रो सन्त जस्तो स्वभावले सबै स्त्रीहरुलाई एउटै भ्रम पर्दो हो - तिमी उनीहरु सबैलाई प्रेम गर्छौ । यस्तो सन्त-महन्तको स्वभावले चल्दैन । अलिकति स्वार्थी हुन पनि सिक । कठोर बन । जसलाई प्रेम गर्दैनौ, त्यसलाई आश पनि नदेखाऊ । र जसलाई अन्तरात्माले चाहन्छौ, उसलाई अन्योलमा पनि नपार । स्पष्ट शब्दमा बताइदेऊ उसलाई - किनभने जिन्दगी छोटो र परिवर्तनशील छ । प्रेमको आयु बढाउनु छ भने ढिलो गरेर के फाइदा, भावनामा बहकिएर के फाइदा?

यसै समयबीच सोङ्क्रान आयो र गयो । सोचेकी थिएँ तिमीलाई लिएर मन्दिरको एकान्तमा जाऊँ, या परिवारजनको माझमा उभ्याएर तिमीलाई पानीले निथ्रुक्क भिजाऊँ । एकातिर थाक्सिन विरोधी आन्दोलनको तनाव र शिथिलता, अर्कोतिर... । पर्ख, यो कथा त तिमीलाई सुनाउनै बाँकी छ । आन्दोलनकै सिलसिलामा एउटा पुरुषले मेरो फोन नम्बर मागेको थियो । मैले नसोचेरै उसलाई नम्बर दिएकी के थिएँ, त्यसले मलाई आफ्नी प्रेयसी नै सम्झ्यो । फोन गरेर हैरान बनायो, मेसेज पठाएर सतायो । मैले त्यसलाई जति घृणा गरे पनि त्यसले मेरो पिछा छाडेन । त्यसकै कारणले प्रत्येक टेलिफोनको घण्टीले मलाई तर्साउन थाल्यो । मैले टेलिफोन उठाउनै छाडिदिएँ ।

एक थियौ तिमी, जसको टेलिफोनको प्रतीक्षामा मेरो रातदिन एक हुन्थ्यो । जति बेला तिम्रो प्यारमा म आकुल-व्याकुल थिएँ, त्यस बेला मेरो निम्ति तिम्रो सामान्य बोली पनि कति दुर्लभ! आखिर के खराबी थियो ममा? किन चाहेनौ तिमीले मसँग बोल्न? यसरी आफ्नो आत्मालाई ढाँटेर के तिमी खुशी छौ?

अर्को थियो त्यो सैतान, जसको एक घण्टीले मात्र पनि जीउभरि काँडा उम्रन्थ्यो । भनिदिएँ त्यसलाई - मैले माया गरेको पुरुष अर्कै छ, जसलाई मैले पुजेर राखेकी छु । तर त्यस सैतानको हस्तक्षेपले गर्दा हाम्रो प्रेम जीवनमा खटपट परिरहेको छ । त्यसैले ऊ मेरो भलाइ चाहन्छ भने मेरो बाटोबाट हटिदेओस् र जहाँबाट आएको थियो त्यहीं फर्कोस् । हैन भने म पनि उससँग कुस्ती खेल्न सक्छु, ऊ तयार भएर बसोस् । सोङ्क्रान रुखोपन र अभद्रता प्रदर्शन गर्ने चाड होइन । तर रुखो स्वर नगरेसम्म त्यस सैतानलाई भाउ पनि लागेन । तिमीलाई थाहा छ, उसलाई आफ्नो प्रेमीको विषयमा बताउँदा मेरो मनमा को थियो?

तिमी बैंककबाट उडेर के गयौ, मेरो मन पनि तिमीसँगै उडेर गयो । त्यसो त त्यसै बसयात्रा गरेको बेलादेखि नै मेरो मन आफ्नो वशमा छैन । तिमीलाई के याद? कति स्वार्थी त तिमी! तिमीलाई त के, आफ्नो घर जान पाए पुग्यो । तिम्रो प्यारमा पागल भएर म न काममा ध्यान दिनसक्छु, न पढाइमै । यति धेरै प्यार पनि ठीक होइन । कामको बेला काम गर्न सकियोस् । पढाइको बेला पढ्न सकियोस् । प्यारको पनि निश्चित दायरा होस्, जसले अन्त कतै असर नगरोस् । यस्तो प्यारको लागि प्रार्थना गर्न म मन्दिर पनि धाएँ । जानीनजानी म तिमीमा एक भएँ । तिम्रो नशामा मैले आफैलाई हराएँ, आफैलाई बिराएँ ।

माया गर्नु अपराध होइन भने कुन गल्तीले हामीलाई अलग्यायो? अब मलाई प्रतीक्षा छ भने केवल त्यस दिनको जुन बेला म तिम्रो न्यानो अँगालोमा बाँधिन पाऊँ, तिम्रा मायालु हातहरु समाउन पाऊँ, तिम्रो ओठमा प्रेमको अमीट निशाना छोड्न पाऊँ, तिमीसँगै निर्जन स्थानमा नयाँ बस्ती शुरु गर्न पाऊँ र तिम्रै खुशीयालीले भरिपूर्ण भएको दुनियाँमा जिउन-मर्न पाऊँ । त्यस दिनको लागि मैले जीवनभरि कुर्नुपर्छ भने लामो प्रतीक्षा नै सही, तर तिमीभन्दा पर मेरो संसार छैन ।

उही तिम्री, समुद्री चरी


तिमी हिमालमा चिरबिर चिरबिर गर्ने हिमाली चरा
म समुद्रमा फिरफिर फिरफिर गर्ने समुद्री चरी
हिमाल र समुद्रको भेट कहिल्यै हुन नसके पनि
त्यही हिमाल पग्लेर समुद्र बन्छ
त्यही समुद्र अग्लेर हिमाल बन्छ
टाढाको भए टाढाकै सही
तर एउटा सम्बन्ध त छ नि
तिम्रो र मेरो सम्बन्ध

तिम्रै फेवाताल र माछापुच्छ्रेको जस्तो सम्बन्ध
तालमा हिमाल गहिरिएको हो कि जस्तो
हिमालमा ताल चुलिएको हो कि जस्तो
तर ताल र हिमालको संगम त भएकै छ नि
भ्रम भए भ्रम नै सही
मृगतृष्णा भए मृगतृष्णा नै सही

तिम्रो र मेरो सम्बन्ध सागर र सगरको जस्तो
सगर र पर्वतको जस्तो
जो जोडिएर पनि एक छैनन्, अलग छन्
जो अलग भएर पनि फरक छैनन्, एक छन्
हिमाली चरा र समुद्री चरी जस्तै

हाम्रो कुल फरक भएर के भो?
हाम्रो मूल फरक भएर के भो?
हाम्रो गुँड फरक भएर के भो?
हाम्रो उड्ने आकाश एउटै हो
हामीले छिचोल्ने वतास एउटै हो
हाम्रो पवन र गगन एउटै हो
हाम्रो गोरेटो र गन्तव्य एउटै हो

No comments:

...