भरखरै सम्राट उपाध्यायको पछिल्लो कथा संग्रह 'दरबारिया भूतहरु' पढेर सिध्याएँ । शुरु-शुरुमा लागेको थियो यी बुर्जुवा हुन्, अमेरिकामा बसेर नेपालको विषयमा लेख्छन्, यिनको लेखनले अधिकांश नेपालीको जनजीवनको प्रतिनिधित्व गर्दैन । संग्रहभित्रको पहिलो कथा पढिसकेपछि यिनीप्रतिको आफ्नो अन्दाज र मूल्यांकन ठीकै जस्तो पनि लाग्यो । र त्यसपछिका कथाहरु पढ्ने जाँगर खासै चलेन ।
केही वर्ष पहिले सम्राटले अमेरिकाबाट आफ्नो पहिलो कथा संग्रह अंग्रेजीमा प्रकाशित गरेर रातारात चर्चा कमाए । भनियो, उनी अंग्रेजीमा लेख्ने र पश्चिमबाट आफ्नो कृति प्रकाशित गर्ने प्रथम नेपाली स्रष्टा हुन् । उनले काठमाडौंलाई आधारभूमि बनाएर रचेका आधुनिक शैलीका कथाहरुले विश्वसामु हाम्रो राजधानीलाई नयाँ परिचय दिए । उनका अमेरिकी पाठकहरुले उनको लेखनको काफी प्रशंसा गरे, उनलाई केही पुरस्कारहरु पनि दिलाए । उनको पुस्तकले राम्रो व्यापार गर्यो । विदेशमा बसेका नेपालीले पनि सम्राटप्रति गर्व गर्ने अवसर पाए । अन्तर्राष्ट्रिय साहित्य जगतमा टक्कर दिन सक्ने एक नेपाली हस्ताक्षरको रुपमा सम्राटलाई स्थापित गराइयो ।
यता सम्राटकै गृह मुलुक नेपालमा भने उनका कथाहरुको असामान्य आलोचना भयो । सरल र सुन्दर अंग्रेजीमा लेखिएका नेपाली परिवेशका कथाहरु विश्व समुदायमाझ पस्केर उनले केही बिराम त गरेनन्, तै उनको कथावस्तुप्रति आपत्ति जनाइयो । भनियो, उनले चर्चा गरेको नेपाली समाजभित्रको यौनिकता भ्रामक छ । यौन जस्तो प्राकृतिक कुरो यसरी व्यापक चर्चाको विषय बनिरहन जरुरी छैन । उनी पाश्चात्य दृष्टिकोणबाट लेख्दैछन् । उनले लेखे जस्तो नेपालमा हुँदैन, नेपालीहरु त्यसो गर्दैनन् । त्यसैले नेपाललाई नचिन्ने पाठकहरुको मनमा यसरी भ्रम सिर्जना गरिदिनुहुँदैन ।
आलोचना हुँदाहुँदै काठमाडौंमा सम्राटको पुस्तकले राम्रो बजार पायो । अंग्रेजी पुस्तक पढ्ने आदत भएका प्राय: सबै पाठकले उनको कृति पढे । तर सम्राटमाथि के आरोप लगाइयो भने उनी एउटै विषयमा मात्र लेख्न सक्छन् - उनको लेखनको दायरा यौन साहित्यमा सिमित छ । प्राकृतिक भए पनि यौन जस्तो सामाजिक लज्जाको विषयमाथि खुलेआम चर्चापरिचर्चा गर्न गाह्रो हुने नै भयो । त्यसैले धेरै पाठकहरुको साझा राय के बन्यो भने उनको शैली र भाषा त राम्रो हो, तर विषयवस्तु हुँदैभएन । सम्राटले लज्जास्पद विषयमाथि कलम चलाए । हामीले उनको कृति पढ्न लाज मानेनौँ, त्यसको विषयमा खुलेर चर्चा गर्न लाज मान्यौँ । उनलाई व्यवसायिक रुपमा लाभै भयो ।
आफ्नो पुस्तकले पाएको मिश्रित प्रतिक्रियाप्रति सम्राटले नेपाली अखबारहरुमा स्तम्भ लेखेर आफ्नो राय व्यक्त गरे । केही हदसम्म उनी आफ्ना आलोचकहरुप्रति खनिए पनि । नेपालीहरुको वैचारिक संकीर्णता र दरिद्रताले उनलाई निसन्देह दु:खी तुल्यायो । तर उनले लेखकको धर्म नछाडी आफ्नो महिलो कृति 'प्रेमका गुरु' शीर्षकको उपन्यास बजारमा ल्याए । अमेरिकामै प्रकाशित भएको उनको नव कृतिलाई पनि उनको पहिलो पुस्तकले प्राप्त गरेको सफलताको आडमा प्रवर्द्धन गरियो । धेरै पाठकको हातमा पुगिनसक्दै यसले निकै चर्चा र प्रशंसा बटुल्यो ।
यस उपन्यासका नेपाली पाठकले फेरि सम्राटको आलोचना गरे । भनियो, उनको कथावस्तुमा नेपालीपन छैन, नेपाली समाजको सही चित्रण छैन । पशुपतिको बाँदरले कुनै नारीको सारीहरण गरेर निर्वस्त्र पारेको इतिहास छैन । सम्राटले यस्तो बेतुक के लेखेका! कतै यौनिकता उनको व्यवसायिक सफलताको गोप्य सूत्र त हैन? आखिर यौनको विषयलाई लिएर घिन त मान्छन् मानिसहरु, तर असली बजार यसैको छ ।
उनको पहिलो कृतिमा समेटिएका प्राय: कामोत्तेजक कथाहरु पढेकै भरमा मलाई पनि विश्वास भएको थियो सम्राट यौन मनोविज्ञानका हस्ती हुन् । र उनको महिलो कृतिलाई लिएर नेपाली संचार-माध्यममा भएको टिकाटिप्पणी, समीक्षा र आलोचनाको आधारमा मलाई त्यो उपन्यास पढ्न मन लागेन । पूर्वाग्रहमै भनौँ, मैले त्यो पुस्तक पढिनँ पनि ।
यता सम्राट नेपाल आएको बेला पुस्तक प्रदर्शनीमा देखिए । 'प्रेमका गुरु' मा हस्ताक्षर गर्दै त्यसलाई धमाधम बिकाए । उनलाई हेर्न र उनको हस्ताक्षर बटुल्न मात्र काठमाडौंमा युवा पुस्ताका पाठकहरुको उल्लेख्य भीड जम्मा भयो । अखबारहरुमा सम्राटका अन्तर्वार्ता छापिए । टेलिभिजन च्यानलहरुले पनि उनको उपस्थितिप्रति विशेष चासो देखाए । यसरी उनको लेखनप्रति भएको आलोचनाले उनको लोकप्रियतालाई बढावा मात्र दियो, त्यसमा आँच आउन दिएन ।
त्यसै समयतिर सम्राटले आफ्नो तेस्रो कृतिको चर्चा गरे । भने, उनी समसामयिक विषयवस्तुमा केन्द्रित रहेर अर्को कथा संग्रह तयार पार्दैछन् । त्यसमा उनी नेपालमा केही वर्ष पहिले भएको दुखद दरबार काण्डको प्रसंग पनि समेट्नेछन् । यो कृति उनका अघिल्ला दुई पुस्तकभन्दा पृथक रहनेछ । यसमा पाठकहरुले नयाँ स्वाद पाउनेछन् । र पहिले सम्राटसँग रुष्ट भएका पाठकहरुले यसपछि उनको लेखाइलाई मन पराउन थाल्नेछन् ।
केही समय पहिले उनको बहुप्रतिक्षित तेस्रो कृति 'दरबारिया भूतहरु' बजारमा आयो र ढिलै भए पनि मैले त्यो पुस्तक पढ्ने मौका पाएँ । छापिँदै त्यस पुस्तकमा सम्राटलाई रुसका चेखोभसँग दाँजिएको छ । उनका पहिला र दोस्रा कृतिहरुको लिखित प्रशंसा पनि त्यहाँ समावेश गरिएको छ । उनले आफ्नी छोरी शाहजादीप्रति पुस्तक समर्पण गरेका छन् । धन्यवादज्ञापनको क्रममा सबैभन्दा प्रमुख पात्र आफ्नी श्रीमतीलाई बनाएका छन् । स्वाभाविक हो, उनी सम्राटका प्रत्येक सिर्जनाकी प्रथम पाठक हुन । त्यसभन्दा पर उनी सम्राटले लेख्ने हरेक शब्दमा सास फेर्छिन् रे, उनको लेखनलाई जीवन्तता दिन्छिन् रे!
पहिलो कथा पढ्दै जाँदा लाग्यो उनको विषयवस्तुमा गहिराइ नै छैन । त्यसमा उनले 'शरणार्थी' शीर्षक दिएर एउटी युवा विधवा र उसकी नाबालिका छोरीले झेल्नु परेको दु:खकष्टलाई मूलभूत विषय बनाएका छन् । विधवाको श्रीमानलाई माओवादीहरुले मारे । उनले उठाएको मुद्दा महत्वपूर्ण छ - जनयुद्धको पृष्ठभूमि र त्यसले छोडेका पीडादायी छापहरु । तर प्रस्तुति फितलो छ र घटनाक्रम यथार्थपरक छैनन् । काठमाडौंका घरहरुमा डेरा गरी बस्ने वर्गका धेरैभन्दा धेरैलाई आफू र आफ्नो परिवारको पेट पाल्नै मुश्किल पर्छ । दयामाया र टिठकै भरमा - र त्यसमा पनि कथामा चित्रण गरिए जस्तै सहज ढंगले - कसैले माओवादी पीडित विधवालाई शरण दिएको सन्दर्भ स्वाभाविक लाग्दैन । त्यस बाहेक लेखकको नेपाली राजनीतिको चेतना सतहमा बगे जस्तो लाग्छ । विशेष गरी माओवादी युद्धको सम्बन्धमा व्यक्त गरिएको उनको विचार र भावनामा सामन्ती सोच झल्किन्छ ।
लेख्ने क्रममा नेपाली भाषामै अश्लील र असभ्य मानिने 'मुजी' जस्तो शब्द उनले गलत सन्दर्भमा प्रयोग गरेका छन् । अंग्रेजी भाषाको एउटा शब्द 'कन्डोमिनियम' लाई अपभ्रंश गरेर एउटा बालकको मुखबाट भनाएका छन् - 'मेरा बाबु कन्डो बेच्छन् ।' त्यसपछि आफैले व्याख्या गरेका छन् - कन्डो भनेर नेपालीमा चाकलाई भन्छन् । र शीर्षकथा 'दरबारिया भूतहरु' मा एक पात्रको लैंगिकतालाई 'छक्का' भनेका छन् । यसरी अंग्रेजीमै गरिएको मुजी, कन्डो र छक्का जस्ता शब्दको प्रयोगले उनको लेखनलाई भद्दा बनाएको छ । जे उनी नेपालीमा लेख्न सक्दैनथे र जे श्लील भएर बोलीभषाको शब्दमा भन्न सक्दैनन्, त्यसको अशिष्ट प्रयोग विदेशी भाषामा पनि नगरुन् । उनी जस्ता क्षमतावान् लेखकले अश्लील साहित्य सिर्जना गरिरहनु नपर्ला ।
त्यस बाहेक सम्राटलाई यस पुस्तकमा खोट लगाउने ठाउँ मैले व्यक्तिगत रुपमा भेटिनँ । यहाँ यौनिकताको छिट्फुट प्रायोग मात्र छ, त्यसको अभावमा उनको लेखन अपूरो, अधुरो छैन । संवेदनशील भएर लेखेका छन्, लेखाइमा परिपक्क्वता छ । त्यसैले पूर्वाग्रही सोच राखेर यो पुस्तक पढ्दै नपढ्नु या पूर्वाग्रह लिएर पढ्नु गलत हुन्छ । नेपालको भूगोल र हाम्रो सामाजिक संरचनालाई एक छिन बिर्सिने हो भने उनका कथाहरु मनवीय छन् । उनले आफूले चिनेको परिवेशलाई समेटेर लेखेका छन् - शायद सबै कथाहरु काठमाडौंकै गर्भमा रचिएका छन् । गाउँले हुँदैमा मानिस मूर्ख हुँदैन भन्ने उनको एक ठाउँको भनाइ घतलाग्दो छ । र अमेरिकी जनजीवनप्रति उनले गरेको टिप्पणी - विशेष गरी त्यहाँ परम्परा र नियमको संस्कार छैन भन्ने अभिव्यक्ति - सटिक लाग्छ ।
उनका कथाहरुको एउटा विशेषता शायद त्यसको मनोवैज्ञानिक पक्ष पनि हो । कति ठाउँमा लाग्यो, उनी कल्पनामा नबहकिएर मेरै कथा लेख्दैछन् । पुस्तकमा कथाहरु पढ्दै जाँदा मानसमा समानान्तर कथाहरु दौडन लागे । उनले वर्णन गरेका दृश्य र परिस्थितिहरु सचित्र लागे, पात्रहरुको बोली कर्णपटमा बुलन्द भई गुन्जिए झैं लाग्यो ।
विशेष गरी बाबुछोरीको सम्बन्धमा आधारित उनको कथा मनपर्यो । यसमा दुई पुस्ताबीचको अन्तर र त्यसमा पनि पछिल्लो पुस्तामाथि गहिरो प्रभाव जमाएको उत्तरआधुनिकताको सशक्त चित्रण भेटे झैं लाग्यो । हुन त त्यहाँ सार्की परिवारको जवान र उच्च खानदानकी युवतीको प्रेम प्रसंग छ, त्यसकै जटिलताको जगमा सम्पूर्ण कथाको निर्माण भएको छ । वास्तविक जीवनमा त्यस्ता घटना विरलै भेटिएलान्, तर कथा बनावटी लाग्दैन ।
त्यस्तै राम्रोमध्येको अर्को कथामा शहरिया मालिक्नी र गाउँले नोकरको प्रसंग छ । वर्गीय रुपमा निकै अन्तर भए पनि मानसिक र भावनात्मक रुपमा यिनीहरुका भाग्यरेखा समानान्तर छन् । एउटा गाउँले नोकरको जस्तो पात्रभित्र जीवन भर्न सम्राटलाई अवश्य मेहनत गर्नुपर्यो होला । मालिक्नी शहरमा एक्लै बस्छे, विवाहित पुरुषसँग उसको शारीरिक र भावनात्मक सम्बन्ध छ । घरको काम सघाउनको लागि किशोर नोकर राखेकी छे । उसको प्रेमीले उसलाई चाहिएजति समय र माया दिन नसक्दा नोकरबाटै आनन्द लिन खोज्छे । बिस्तारै नोकरको पनि मालिक्नीसँग भावनात्मक सम्बन्ध गाँसिदै जान्छ र ऊ मालिक्नीलाई प्रेम गर्न थाल्छ । स्वाभाविकताको पक्षलाई हेर्ने हो भने यसको कथावस्तु पनि नेपाली समाजको वृत्तभित्र नअटाउला । तर कथाको मनोवैज्ञानिक पक्ष कमजोर लाग्दैन ।
अर्को उल्लेखनीय लाग्ने कथामा उनले मानसिक सन्तुलन खलबलिएको बालकलाई पात्र बनाएका छन् । त्यसको प्रस्तुति पनि जोडदार लाग्यो । उमेर चढ्दै जाँदा त्यस बालकका जटिलताहरु पनि बढ्दै जान्छन् । एक दिन ऊ आमालाई बन्दुक किन्ने पैसा माग्छ । भनेको नपाएपछि कान्छीआमासँग मागेर भए पनि बन्दुक किन्छ । र माओवादी अभियानमा हिंड्ने कुरा गर्दागर्दै एक दिन ऊ हराउँछ । उसैसँग गाँसिएको उसकी आमाको अभिभावकीय चरित्रमा गहिराइ भेटिन्छ । एउटा पागल छोरो हुर्काउनुको पीडा आफ्नै ठाउँमा छ, झन् श्रीमानले छोडेर कान्छीसँग बस्न थालेपछि उनको जीवनमा वज्रपात पर्छ । बच्ची जस्ती सौताको गर्भावस्थामा रेखदेख गर्ने जिम्मा पनि उनी नै लिन्छिन् । जन्म दिएपछि सौता बेपत्ता हुन्छे, उसको खोजीमा श्रीमान् पनि हराउँछन् । आफ्नै छोरोले छोडेर गएपछि रित्तिएको उनको काख, हातमा सौताको नवजात शिशु, पराइ भएका आफ्ना धेरै वर्षका श्रीमान् - जीवनबाट उनले के पाइन् र के गुमाइन्, लेखाजोखा छैन । यो कथा असाध्यै मार्मिक र हृदयस्पर्शी छ ।
अरु कथा ठीकै हुन् । कतै उनका पात्र सिनेमाका वरिष्ठ नायक छन्, कतै राजनीतिज्ञ, कतै बैंक या अन्य कार्यालयका कर्मचारी । र शायद कुनै कथा पनि प्रेमबाट अछूतो छैन । तर यौनिकताको भद्दा प्रयोग कतै भएको छैन । शीर्षकथा वि. सं. २०५८ को दरबार घटनाको पृष्ठभूमिमा रचिएको छ । एकातिर राजा वीरेन्द्रको वंश विनाश भएर देश शोकमग्न भएको बेला अर्कोतिर एक ट्याक्सी चालक दाजुले आफ्नै भाइलाई 'छ्क्का' भएको रिसमा भकुरेको विषयवस्तु फितलो अवश्य लाग्छ । उनको आधा कथामा इतिहास छ, जुन हामीले धेरै पटक पढिसकेका छौं । त्यसैसँग गाँसेर लेखिएको हल्का काल्पनिक कहानीले दरबार काण्डको गम्भीरतालाई नबुझी धजी उडाएको हो कि जस्तो लाग्न सक्छ । साथै 'छक्का', 'हिंजडा' जस्ता अनादरार्थी शब्द प्रयोग गरेर त्यस वर्गका पुरुषहरुलाई हेपिएको हो कि जस्तो लाग्छ ।
तर सम्राट भगवान होइनन् । उनले गल्ती गरेको सुहाउँछ । पहिलो पुस्तकबाट तेस्रो पुस्तकसम्म आइपुग्दा उनले गरेको बौद्धिक र वैचारिक प्रगति प्रशंसानीय छ । यति हो, आवश्यकताभन्दा बढी चर्चा पाए! अंग्रेजी उनको पहिलेदेखि नै राम्रो हो । आफै अंग्रेजीका विद्यार्थी हुन्, अमेरिकामा पनि अंग्रेजी नै पढाउँछन् क्यारे । त्यसैले जानेको कुरो लेखे र छपाए - उनलाई त्यति गाह्रो पनि भएन होला । तर लेखनको क्रममा गरेको मेहनत र परेको पौरखको लागि उनी धन्यवादका पात्र छन् । नत्र सम्राट जस्तै प्रगति गरेका अरु नेपाली छैनन् भन्न नमिल्ला । आज नेपालीले संसार ढाकेको छ । सम्राट जस्तै वा त्यसभन्दा माथिल्लो वर्गका सबै नेपालीले किबोर्ड चलाएका भए अंग्रेजी साहित्यको सँघारमा उभिएर सम्राटले यसरी राज गर्न पाउन थिएनन् । तर संयोग पनि कस्तो भने नाम उनको सम्राट, काम उनको राज गर्ने, बाबु उनी शाहजादीका । अस्तु!
1 comment:
whenever i have doubts about my writing, i pick this book up.
Post a Comment