साथीहरु, सर्वप्रथम सबैलाई नयाँ वर्ष २००७ को शुभकामना!
आजको 'कान्तिपुर' मा प्रकाशित यो लेख मनपर्यो ।
विजयी सद्दाम र पराजित बुस
कृष्णज्वाला देवकोटा
वाटरगेट काण्डपछि सत्ता छोड्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका बारेमा एउटा ठट्टा थियो । निक्सन भन्थे रे, 'यदि दुईवटा गल्तीले समेत एउटा ठीक परिणाम दिएनन् भने तेस्रो गल्ती पनि गरिहेर्नु पर्छ ।'
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले शनिबार आफूलाई निक्सनका असल उत्तराधिकारी सावित गरे तर इराक मामिलामा उनको तेस्रो गल्ती यति भयानक थियो कि संसारले केहीबेर विश्वाससम्म गर्न सकेन । तर जसै संसारभरिका टेलिभिजनका पर्दामा आफ्नै पासो मिलाइरहेका सद्दाम हुसेनलाई देखाइयो, अविश्वास गर्न केही बाँकी थिएन । शनिबार झिसमिसेमै जर्ज डब्लु बुसले सद्दाम हुसेनलाई मात्र होइन, अमेरिकी स्वाधीनता संग्रामबाट सूत्रबद्ध न्याय, स्वतन्त्रता र भ्रातृत्वको नारालाई पनि फाँसी दिइसकेका थिए ।
२७ वर्ष अघि इराकको दुजेलमा १ सय ४८ सियाहरूको सामूहिक हत्याका लागि सद्दाम हुसेनलाई न्यायिक कठघरामा उभ्याइनु अस्वाभाविक होइन । इराकका यी पूर्व तानाशाहका हात पाँच हजार कुर्दका रगतले पनि रंगिएका थिए । तर सद्दामलाई तिनीहरूले फाँसी दिए, जसले पछिल्ला चार वर्षमा इराकमा साढे छ लाख इराकीको हत्या गरिसकेका छन् । १ सय ४८ को हत्या फाँसीको पर्याप्त कारण हो भने साढे छ लाख इराकीको हत्याका लागि जर्ज डब्लु बुस र टोनी ब्लेयरले कम्तीमा एक दर्जनपटक आफैंले आफैंलाई मृत्युदण्डको सजाय दिनुपर्छ कि पर्दैन ? सद्दामले सार्वभौम राष्ट्र कुवेतमाथि सैनिक आक्रमण गर्नु मानवताविरोधी अपराध हुन्छ भने अमेरिका र बेलायतले अर्को सार्वभौम राष्ट्र इराकमाथि सैनिक आक्रमण गर्नु र एउटा आधुनिक राष्ट्रलाई सम्हाल्नै नसक्ने विपत्तिमा मिल्काउनु झन् ठूलो मानवताविरोधी अपराध हो कि होइन ?
यो प्रकरणमा न्यायका नाममा जति निकृष्ट नाटक मञ्चन गरियो, त्यसले अमेरिकाको छविलाई अझ विदू्रप बनाएको छ । सद्दाम ११ सय ११ दिन अमेरिकी हिरासतमा रहे । १ जुलाई २००४ मा उनलाई तथाकथित न्यायालयमा उभ्याइयो, तर सद्दामलाई फाँसी दिँदै गरेका दृश्य संसारभरिका टेलिभिजनमा बहादुरीपूर्वक प्रदर्शन गर्ने अमेरिकाले न्यायालयभित्रका असली दृश्यहरू भने कहिल्यै सार्वजनिक गरेन । सद्दामका वकिलहरू मारिए, पटक-पटक न्यायाधीशहरू परिवर्तन गरिए । न्यायका नाममा महिनौं लामो घटिया तमासापछि सद्दामलाई मृत्युदण्ड सुनाइयो, जबकि एम्नेस्टी इन्टरनेसनल लगायतका संस्थाले न्यायालय निष्पक्ष नभएको र सम्पूर्ण प्रक्रिया नै न्यायको सिद्धान्तविरुद्ध रहेको जिकिर गरिरहे । प्रजातन्त्र र मानवअधिकारका नाममा अमेरिका र बेलायतले इराकको कुनै बंकरभित्र गरिरहेको अन्यायको नाङ्गो नाचलाई संसारले मूकदर्शक भएर हेर्यो ।
सद्दाम हुसेनको फाँसी अहिलेको विश्व व्यवस्थाको सबैभन्दा विद्रूप, वीभत्स र आततायी प्रतीक हो । त्यो तस्वीर प्रजातन्त्र, मानवअधिकार र सभ्यताको भयानक पाखण्डभित्र अमेरिका संसारलाई कति नाङ्गो जंगलराजतिर लैजाँदैछ भन्ने वीभत्स प्रमाण पनि हो । यो प्रकरणबाट जर्ज डब्लु बुसले अरब र बाँकी विश्वका अरू नेतालाई स्पष्ट सन्देश दिएका छन्- या अमेरिकी दासता स्वीकार गर या सद्दाम हुसेनको नियतिका लागि तयार होऊ । जर्ज डब्लु बुसले सभ्यताको सबै इतिहासमा कालो पोतेर संसारलाई फेरि कबिला युगमा फर्काइदिएका छन्, जहाँ संसार विवेकले होइन लठ्ठीले चल्छ ।
शीतयुद्ध कालमा अमेरिकाको सबैभन्दा गाढा सम्बन्ध जापान र युरोपपछि मुसलमान विश्वसँग नै थियो । सन् १९७९ को इरानको इस्लामिक क्रान्तिपछि इरानको तेल उद्योगको राष्ट्रियकरण भयो । क्रान्ति अघि जहिर शाहको शासनकालमा इरानको तेल उद्योगमा अधिकांश लगानी अमेरिकाको थियो । तर आयोतोल्ला अली खुमेनीले अमेरिकालाई बेइज्जतीपूर्वक इरानबाट बाहिर लखेटे । तेहरानस्थित अमेरिकी दूतावाससमेत वर्षौं मुजाहिद्दीनहरूको कब्जामा रह्यो । इरानको त्यही हिसाब तिर्न अमेरिकाले सद्दामलाई उकास्यो र इरानमाथि आक्रमण गर्न लगायो । तर आठ वर्ष लामो युद्धले इराकी अर्थतन्त्र बेहाल भएपछि सद्दामले तेलको मूल्य बढाउन खोजे तर कुवेतले त्यसो गर्न दिएन । कुवेतमाथिको इराकी आक्रमणको मूल अर्थ-राजनीति यही थियो । र तेलको यही राजनीतिले गर्दा सिनियर जर्ज बुसका आँखा खुम्चिए र सद्दाम उनको निसानामा परे । त्यसपछि तेलका लागि रगत बगाउने खुनी खेल सुरु भयो ।
इराकमाथि आक्रमणअघि जर्ज डब्लु बुसले भनेका थिए, सद्दामसँग मानवताविरोधी आणविक र रासायनिक हतियार छन् । उनले अल-कायदासँग सद्दामलाई जोड्न पनि थुप्रै कुतर्क आविष्कार गरेका थिए । तर इराक युद्धपछि बुसले संसारलाई त्यस्तो केही देखाउन सकेनन् । अमेरिकी आक्रमणको पूरै पटकथा जालझेलको प्रपञ्चमात्र थियो भन्ने प्रमाणित भइसकेपछि पनि टोनी ब्लेयर र जर्ज डब्लु बुसले संसारसँग माफी मागेनन्, बरु निर्लज्जतापूर्वक मानवअधिकार र प्रजातन्त्रको राग अलापिरहे । अन्ततः दुजेलको उत्खनन गरियो र न्यायको नाटक रचेर सद्दामलाई फाँसीसम्म पुर्याइयो ।
अमेरिकी मिडिया भन्छ- फाँसीपछि जर्ज डब्लु बुस निकै प्रसन्न छन् । बुसलाई लागेको होला, उनले अब सद्दामबाट, सधैं उनीतिर सोझिने सद्दामको चोर औंलोबाट, सद्दामको आक्षेप र आवेगबाट सधैंका लागि मुक्ति पाए । तर सत्य त्यो होइन । अमेरिकाका लागि जिउँदो सद्दाम एउटा सामान्य कैदी थियो, तर अन्यायपूर्वक फाँसी पाएको सद्दाम अब 'सहिद' भएको छ । इराकी इतिहासको एउटा फुच्चे तानाशाहलाई वर्तमान विश्वको सबैभन्दा ठूलो तानाशाह जर्ज डब्लु बुसले 'सहिद'को मृत्यु दिएका छन् । यो बुसको सद्दामप्रतिको श्रद्धा हो वा घृणा, यसै भन्न कठिन छ ।
बुसले 'न्यायाधीश' को कुनै गरिमा निर्वाह गरेनन्, तर सद्दामले अभियुक्तको सबै गरिमा पूरा गरे । बुसले कायर 'न्यायाधीश'को भूमिका निर्वाह गरे, सद्दामले बहादुर कैदीको । उनले बुससँग जीवनको भीख मागेनन्, बरु 'म सिपाही हुँ, मलाई मेरै सामुन्ने छातीमा गोली हान, फाँसी नदेऊ' भने । फाँसीकै फन्दामा झुन्डिनुअघि पनि उनले मुख छोप्न अस्वीकार गरे, तर उनलाई झुन्ड्याउने बुसका सिपाहीहरूसँग यति हिम्मत देखिएन । जुनियर जर्ज बुसले मुख छोपेर हत्याको फरमान जारी गरे र सद्दामले मुखसम्म नढाकी मृत्युलाई स्वीकार गरे । यसरी मर्दामर्दै पनि सद्दामले जिते र बाँच्दा-बाँच्दै पनि जर्ज बुसले हारे ।
इराकमा जर्ज डब्लु बुसले न कुनै अन्तर्राष्ट्रिय कानुनको पालना गरे, न मानवीय न्यायको ।
कुनै बेला अरबको सबैभन्दा सम्पन्न देशलाई यतिखेर सिया, सुन्नी र कुर्दहरूका लागि बेग्ला-बेग्लै तीनवटा राष्ट्रका रूपमा टुक्र्याउने तयारी भइरहेको छ । साम्प्रदायिक हिंसाको स्तर हेर्दा अब सम्भवतः त्यसको कुनै विकल्प पनि हुने छैन । इराकको यो दुर्भाग्यका लागि सद्दाम जति जिम्मेवार छन्, जर्ज बुस र टोनी ब्लेयर त्योभन्दा करोडौं गुना जिम्मेवार छन् । अमेरिकी दादागिरीका कारण अहिले धेरैले मुख नखोल्लान्, तर कुनै न कुनै दिन सद्दाम फेरि चिहानबाट उधिनिनेछन् र जर्ज बुस र टोनी ब्लेयरले अपराधीको कठघरामा उभिएर संसारलाई उत्तर दिनु पर्नेछ ।
सद्दाम गरिमापूर्वक मरे, एउटा तानाशाहले नाटकीय रूपमा मृत्युलाई पनि सानदार गरिमा प्रदान गर्यो । सद्दामले मर्दामर्दै पनि जर्ज बुस र टोनी ब्लेयरलाई हराए । सद्दाम अब कहिल्यै उठ्ने छैनन्, तर बुस र ब्लेयर अब कहिल्यै सुत्नसक्ने छैनन् ।
No comments:
Post a Comment