पहिलो भाग यहाँ
बिहान ६ बजे ब्युँझन्छु । उज्यालो भइसकेछ । सुनकोशीको तीरमा महादेवको मन्दिर छ । त्यहाँ पूजा गर्न गए झैं गर्छु तर मेरो ध्येय अर्कै हुन्छ, जस्तै नदीमा पुगेर हात, मुख, टाउको पखाल्ने । पानीसँग फेरि होली खेल्छु । सम्झिन्छु - कुनै समय गाउँमा छँदा मेरो हरेक दिन यसरी नै बित्थ्यो । सम्झिन्छु - काठमाडौंको धारामा पानी नआउँदा कति दिन नुहाउन पाइँदैन, दु:ख हुन्छ ।
लजमा फर्किन्छु । नास्ता खान्छु । हिसाब बुझाउँछु । र फेरि आउने वाचा गर्दै त्यहाँबाट विदा हुन्छु । बसपार्कमा बनेपातिरबाट आएको खाली बस भेटिन्छ । बाह्रबीसे जाने रे ! लौ त्यसो भए नगएको ठाउँ हो, के भो र ! चढ्छु । एक-डेढ घण्टापछि बाह्रबीसे पनि आइपुग्छ । मैले सोचे जस्तो डाँडाको टाकुरामा नभएर बाह्रबीसे बजार बेसीमा पो रहेछ । केही बाक्लो, केही व्यस्त ।
बसबाट ओर्ह्लेपछि केही बेर हिंड्छु र अर्को बस भेटिन्छ - तातोपानी जाने । ओहो, तातोपानी !
'... कोदारी ज्यानको तातो है पानी नेपालको सिमाना
नेपालको सिमाना मेरी माया नेपालको सिमाना
तिम्रो र हाम्रो मन मिल्यो भने के गर्छ जमाना
के गर्छ जमाना मेरी माया के गर्छ जमाना...'
रेडियोमा सुनेको थिएँ, धेरै पहिले यो लोकगीत । र सुनेको थिएँ तातोपानीमा नुहाउँदा छालाका विभिन्न रोगहरू आफै बिसेक हुन्छन् रे ।
लौ बाह्रबीसेमा के गर्ने, तातोपानी जाने भइयो । बसमा चढिहाल्छु, तर बस्ने ठाउँ भेटिंदैन । भाडा संकलन गर्ने भाइ सोध्छ - कहाँसम्म पुग्ने हो, तातोपानी कि लिपिङ । लिपिङको नाम मलाई थाहा भएन । उसले बुझायो । नेपाल र तिब्बतलाई मितेरी पूलले जोड्ने ठाउँ, त्यो नेपाली सिमाना रहेछ लिपिङ । साढे दुई घण्टापछि लिपिङ आइपुग्छ । सबै ओर्ह्लन्छौं । लौ वारि नेपाल, पारि तिब्बत - तर जहाँ प्रशासन चीनको चल्छ । अनि उः माथि देखिने भीरमा अल्झेको जस्तो घना बस्ती - त्यो खासा बजार, ल्हासा जाने बाटो ।
लिपिङको एक तामाङ्ग होटलको दालभात विशेष मीठो लाग्छ । त्यहाँ पनि ग्राहकलाई खुवाउने चुठाउने काम दुई कलिला छोरीहरू गरिरहेछन् । तीमध्येकी सानीलाई म जिस्काउन खोज्छु । नाम सोध्छु । ऊ हाँस्दिन । बोल्दिन । म उसको होटलमा के खान आएको छु उसलाई त्यससँग मात्र सरोकार छ । खाना खाएपछि मलाई तिब्बतको भूमिमा पदार्पण गर्न मन लाग्छ । कडा सुरक्षा जाँचपछि मेरो नागरिकताका भरमा मलाई एक दिनको लागि चिनियाँ भूमिमा घुम्ने अनुमति पत्र दिइन्छ । मितेरी पूलमा एक छिन अडिन्छु । पूलमुनि भोटेकोशी गर्जँदै छ । पूलको पल्लो छेउमा चिनियाँ सुरक्षाकर्मी तैनाथ छन् । र त्यता एउटा द्वार छ जसमा लेखिएको छ - 'गणतन्त्र चीनमा तपाईंलाई स्वागत छ ।'
मलाई उदेक लाग्छ भोटेकोशीको ताकत देखेर । एउटा नदीको भरमा यी दुई मुलुक कसरी छुटिए ! भौगोलिक बनोट एउटै छ । प्राकृतिक संरचना उस्तै लाग्छ । तर वारि र पारिको हावा पनि फरक हो कि जस्तो ! बोलीभाषा त फरक हुने नै भयो । चिनियाँ भूमिमा चीनले बनाएका आधुनिक भवनहरु र नेपालको सिमानामा गरीबका झोपडीहरु - यस अर्थमा यी दुई देशको भौतिक विकासको कथै अर्को जस्तो !
पूलपारि चिनियाँ भूमिमा चहलपहल धेरै छ । त्यहाँ पनि प्रायः नेपालीहरू नै देखिन्छन् । चिनियाँ व्यापारी र सुरक्षाकर्मी सामान्य नेपाली बोल्न सक्छन् । मलाई तिब्बती माटोको लोभ लाग्छ । खासासम्म जाने फाट्टफुट्ट चिनियाँ गाडीहरू भेटिन्छन् । सय रुपैयाँ भाडा लिन्छन् । नेपाली मुद्रा खासा बजारमा पनि चल्छ । खासा बजार - जसका सस्ता कच्चा सामानहरू काठमाडौंमा छ्याप्छ्याप्ती पाइन्छन् ।
एउटा चिनियाँ सवारी चालक खासा लैजाने ग्राहक बटुल्दै छ । ईशाराको भरमा म उसको सानो गाडीभित्र बस्छु । ऊ गाडी कुदाउँछ । बाटो कच्ची छ - बाह्रबीसे लिपिङ खण्ड जस्तो, तर त्यति डर लाग्दो पनि हैन । करीब आधा घण्टाको उकालोपछि आइपुग्छ खासा । त्यहाँ सुरक्षाकर्मीले फेरि केरकार गर्छन् । अंग्रेजी बोल्दैनन् । हल्का नेपाली जान्दछन् । ईशाराको भर पर्नुपर्छ ।
घोप्टेभीर जस्तो ठाउँमा भएको अदभूत विकास, खासा बजार टाढाबाट जति सुन्दर देखिन्छ, वास्तवमा नजीकबाट त्यो त्यस्तो लाग्दैन । सामान्य लाग्छ । त्यहाँ पनि प्रशस्त नेपाली व्यापारी र कामदारहरू छन् । र त्यहाँ बसोबास गर्ने चिनियाँहरू अधिकांश नेपाली जस्तै गरीब र अशिक्षित छन् ।
शनिबारको दिन भएकोले खासा बजार प्रायः बन्द छ । तर मलाई बजारको पल्लो छेउसम्म पुग्न मन लाग्छ । हिंड्छु, तर किनमेल गर्दिनँ । सुनेको छु यहाँ किनमेल गर्न खोज्दा कहिलेकाहीं झमेलामा पनि फसिन्छ रे ।
करीब दुई घण्टा बित्छन् खासामा । फर्किने बेला कसैले बोलाएको सुन्छु । पारिपट्टि एउटा घर बाहिर भर्याङ जस्तो खुट्किलो छ । त्यहाँ दई युवतीहरू छन्, अथवा किशोरी नै भनौं । उमेरले शायद २० वर्ष पनि ननाघेका । बोलाउँछन् । कर गर्छन् । आऊ, गफ गरौं, माथि कोठा छ, त्यहाँ गएर बसौं भन्छन् । एकछिन अलमलिन्छु । तिनको कुरा नबुझे झैं गरी तिनलाई पछ्याउँछु । मलाई कौतूहलता हुन्छ । अनि आफूमाथि पूरा भरोसा पनि लाग्छ । त्यसैले म डर्दिनँ । तर यो मेरो लागि नौलो अनुभव । लाग्छ - यी भोटिनीहरू कति आँटिला !
तिनीहरूले एक तला बहालमा लिएका रहेछन् । त्यसमा दुई कोठा छन् जसमध्ये एक भित्री, गोप्य कोठा छ । अर्को बाहिरी, खुला र फराकिलो कोठा, जहाँ टिभी-भिसिडी छ, सोफाहरू छन्, टेबल छ, खाने ठाउँ छ र एक कुनामा बियर बार पनि ।
म उनीहरूको कोठामा प्रवेश गर्दा त्यहाँ आधा दर्जन सुन्दर अनुहार भएका युवतीहरू छन् । 'हामी खासाको तरुनीहरू हो, हामीसित मोज गर' ती भन्छन् - चुरोटको धुवाँ उडाउँदै, हाँस्दै, अट्टहास गर्दै । तीमध्ये एउटी मेरो छेउमा टाँसिएर बस्छे ।
अब मलाई डर लाग्छ । यिनले मलाई फसाए भने - यिनले मलाई लुटे भने - आखिर यो मेरो भूमि होइन । यहाँ मेरो पाइलो लुलो हुन्छ । तर ती सोध्छन् - 'तँलाई के पिउन मन छ ? तँलाई कस्तो केटी चाहियो - टिबेटन, चाइनिज, नेपाली ?' बोल्दिनँ । ती मलाई बियर पिउन आग्रह गर्छन् । नकार्छु । कोक त पिऊ भन्छन् । त्यो पनि मान्दिनँ । एकछिन टोलाएर बस्छु । तिनीहरू आफू-आफूसँग तिब्बती भाषामा कुरा गर्दैछन्, तास खेल्दैछन्, टिभी हेर्दैछन् । भित्रबाट दरिलो गरी चुकुल लगाएका छन् । बेलाबेलामा झ्यालबाट बाहिर पनि हेर्दैछन् ।
तर मलाई फर्केर नेपाल जानु छ । तातोपानीमा बास बस्नु छ । मलाई उनीहरूको हाउभाउ र गतिविधि मन परेको छैन । त्यस कालकोठरीभित्रको हावा मन परेको छैन । त्यसैले उनीहरूसँग विदा हुने अनुमति माग्छु । शुरुमा ती केही बोल्दैनन् । 'यति छिटै गइहाल्ने - केही पिएर त जा, केको हतार !' मलाई फकाउँछन् । केही बेरपछि तीमध्येकी सबैभन्दा सानी केटी मलाई भन्छे - 'फर्कने भए ढिला नगर् । ५ बजेपछि खासाको नाका बन्द हुन्छ, त्यसपछि पुलिसले तँलाई तल जान दिँदैन ।' उसको सामयिक चेतावनीको लागि उसलाई धन्यवाद दिन्छु । चिनियाँ समय अनुसार ५ बज्न १५ मिनेट मात्र बाँकी छ । जुरुक्क उठ्छु । सानी मेरो लागि ढोका खोलिदिन्छे । मेरो सकुशल रिहाइ हुन्छ । ढोका फेरि लाग्छ ।
एक हिसाबले घिनलाग्दो र अति लाजमर्दो घटना । तर अर्को हिसाबले एउटा गजबको अनुभव यो मेरो लागि ! आखिर मैले केही नयाँ कुरा सिकें पनि । तिनीहरूको साहसको त मैले प्रशंसा गर्नैपर्छ ।
खासा बजारको नाकाबाट बाहिरिएपछि केही समय कुर्नुपर्ने हुन्छ । अनि अघि हामीलाई माथि खासासम्म ल्याउने मोटर फेरि भेटिन्छ । त्यसै मोटरमा चढ्छु र मितेरी पूलसम्म पुग्छु । पूलमा टेक्दा पानीले छिट्याउँछ र लिपिङ पुग्दा पानी दर्कन्छ पनि । तातोपानी जान ठीक्क परेको एउटा बस भेटिन्छ । आधा घण्टाको कुराइपछि खचाखच भएर बस हिंड्छ ।
१५ मिनेटमै तातोपानी आइपुग्छ । त्यहीं झर्छु । बास खोज्छु । तातोपानी धाराको छेउमै एउटा लज छ - ताप्लेजुङ्ग लज, ताप्लेजुङ्गबाट आएका शेर्पाहरूले चलाएको पाहुनाघर, काठले बारेको कटेरो । त्यहाँ एकल कोठा भेटिन्छ । झोला बिसाउँछु । धारामा गएर टिकट काट्छु र भतभत उम्ले झैं लाग्ने पानीमा आधा घण्टा नुहाउँछु । सफा र तन्दरुस्त हुन्छु । शायद शरीर र मनको विकार पनि पखाल्छु । यो ठाउँ असाध्यै सुन्दर छ । शायद फेरि आउनुपर्छ । जाडोको मौसममा भए अझ राम्रो । बन्जी जम्प पनि यहाँबाट धेरै टाढा छैन ।
भोटेकोशीले कुर्लन छोडेको छैन । र पारिपट्टि चट्टान जस्तो चिनियाँ भूमिको भीरले एकटक टोलाएर हेर्दैछ । आँखाका ढक्कनी बन्द हुन खोज्दैछन् । भोलि बिहान छिटो उठ्नु छ । एक चरण फेरि नुहाउनु छ । ८ बजेतिर बाह्रबीसेको गाडी समातेर काठमाडौं र्फकने व्यवस्था मिलाउनु पर्नेछ ।
भोटेकोशीको सुमधुर संगीतलाई धेरै धन्यवाद !
(तातोपानी, २०६१ चैत्र १३)

1 comment:
keep it rolling, hikmat. these are great to read.
Post a Comment