11.13.2006

कुसुमा

बैंककबाट प्रस्थान गर्ने दिन बिहान आठ नबज्दै उडान समयभन्दा तीन घण्टा पहिले म दोन मुअङ अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छु । झोलाहरुको नापतौल गराएर एअरलाइन्सलाई जिम्मा लगाइसकेपछि अब त्यहाँ कुर्ने बाहेक अर्को काम हुँदैन । शायद धेरै चाँडो आइएछ!

टेलिफोन बुथबाट कुसुमालाई फोन गर्छु । ऊ मेरो स्वर चिनेर केही उत्साहित हुन्छे, तर निद्राले छोडिनसकेको हुँदा हाइ-हाइ गर्दै बोल्छे । मलाई थाहा थियो ऊ हिजो राति निकै अबेरसम्म बिउँझै थिई । मध्यराति फोन गरेकी थिई ।

"सुतेका त थिएनौ है?"

"अहँ, थिइनँ ।"

"के गर्दै बसेको?"

"तिमीलाई सम्झेर!"

"अँ, होला!"

"सत्य हो, ल! तिमीले फोन गर्छु भनेकी थियौ नि त । त्यसैले तिम्रो फोन कुरेर बसेको!"

"अनि मेरो फोन कुर्न पनि नसुतेर बस्नुपर्छ त?"

"साँच्चै भनौं, कुसुमा? वास्तवमा आज मलाई निद्रै लागिरहेको छैन । तिम्रो देशमा कति छिटो यी दुई महीना बितेछन्, थाहै भएन । पुगे जति सबै ठाउँ, भेटे जति सबै मानिस, बटुले जति सबै अनुभव - सब सपना जस्तो लाग्दैछ । एउटा यस्तो मीठो सपना, जो देखेर मन अघाउँदैन । तर जसको आज अन्तिम रात हो । भोलिदेखि उताको कल्पनाले मात्र पनि कहाली लागेर आउँछ । नेपालमा क्रान्तिको आगो दन्केको छ - एउटा यस्तो आगो, जसले डढेलोको उग्र रुप लिनसक्छ, रगतलाई पानी र माटोलाई खरानी बनाउनसक्छ । एउटा यस्तो क्रान्ति, जसको भविष्य आफै अन्योलमा छ । काठमाडौंमा कर्फ्यु र नाकाबन्दीको कारण खद्यान्नको अभाव भइसक्यो रे, महंगीले आकाश छोइसक्यो रे । १७ दिन भइसक्यो, सुधारको लक्षण कतै छैन । कति दिन यस्तो अवस्था रहिरहने हो, न त्यसको नै कुनै टुंगो छ ।"

कुसुमा मेरा कुरा कति बुझ्छे-बुझ्दिन, त्यसको अन्दाज मलाई छैन । उमेरले ऊ मभन्दा सानै छ, भरखर १८ वर्षकी । बैंककमै जन्मी-हुर्की । बैंकककै वरिपरि उसको सिंगो संसार घुम्छ । आफ्नो देशभित्र धेरै ठाउँ पुगे पनि विदेश भ्रमण गरेकी छैन । पश्चिमेली पप संगीत उसलाई विशेष मनपर्छ, तर राजानीतिमा उसलाई कति चासो छ, त्यो म जान्दिनँ ।

"मेरो त ढिलै सुत्ने बानी छ ।" प्रत्युत्तरमा ऊ भन्छे । "के गर्नु, आजभोलि पढाइ छैन र छुट्टीमा गर्ने काम पनि हुँदैन । त्यसैले आफ्नै कोठामा अबेरसम्म कम्प्युटरमा खेल्दै बस्छु । दिनभरि सुतेर बिताउँछु । थम्मासाट विश्वविद्यालयमा डेन्टिस्ट्रीमा नाम निकाल्न सकें भने बल्ल आउँछन् मेहनत गर्नुपर्ने दिनरातहरु!"

"पाइहाल्छ्यौ नि, त्यति सिपालु छ्यौ । पाएपछि चाहिं भोज खुवाउनुपर्छ नि!"

"भइहाल्छ नि, तर एउटा शर्तमा - म डेन्टिस्ट भएपछि मेरो पहिलो 'पेसेन्ट्' तिमी हुनुपर्छ ।"

"त्यही त, अरु कसको आँट हैन तिम्रो हातबाट उपचार गराउने!"

"हाहा!"


"आमाले के भन्नुभयो?"

"हुन्छ रे ।"

"उहाँलाई पनि लिएर आऊ है? अनि मिल्छ भने बाबालाई पनि ।"

"आमा र म आउँछौं । बाबालाई बिहानै फुकेट जानुपर्ने भयो ।"

"ल, भोलि बिहान भेटौं । म नै तिमीलाई फोन गरौंला नि ।"

"हुन्छ, गूड्नाइट ।"

केही घण्टा पहिले मैले नै कुसुमालाई फोन गरेको थिएँ । उसले मलाई पूर्व-अनुरोध गरेकी थिई - बिन्ती, मलाई फोन नगरी घर नफर्कनू । म प्रतीक्षा गरेर बसिरहनेछु । मिलेछ भने भेटौँला पनि । मेरो स्वर सुन्नासाथ उसले मलाई चिनिहालेकी थिई र उसको आवाजमा फुर्ति बढेको थियो ।

"कुसुमा, भोलि बिहान म काठमाडौं फर्कंदैछु ।"

"तिम्रो ईमेलबाट थाहा पाएँ ।"

"जानुभन्दा पहिले तिमीलाई भेट्न कस्तो मन छ ।"

"मलाई पनि ।"

"तिमी एअरपोर्टमा आउन सक्छ्यौ?"

"आमालाई सोध्नुपर्छ ।"

"सोधेर मलाई खबर गर है त, भरे राति वा भोलि बिहानै ।"

"ल, म राति नै फोन गर्छु । तर तिमी सुतिसकेछौ भने नि? अहिले नै १० बजिसक्यो!"

"फरक पर्दैन । सुतेकै भए बिउँझौला नि, के भो!"

"ल, ल । म राति पक्कै फोन गर्छु ।"

त्यसै फोनको त प्रतीक्षा थियो मलाई । उसको सकारात्मक जवाफ अएपछि उसलाई फेरि भेट्न पाउने आशामा मन पुलकित भयो ।

कुसुमालाई पहिलो पटक ६ वर्षअघि भेट्दा ऊ १२ वर्षकी सानी, मोटी स्कुले केटी थिई । मलाई याद छ, त्यस बेला हाम्रो भेट बैंककबाट उत्तर चियङ माईतर्फ जाने सन्दर्भमा एउटै बसका यात्रीको रुपमा भएको थियो । त्यस यात्रामा साना केटाकेटी ऊ र म मात्रै थियौं । म उसको अघाडिको सिटमा बसेको थिएँ । बेलाबेलामा कसैले मलाई पछाडिबाट छोएको, घोचेको, धकेलेको जस्तो लाग्थ्यो । अनि तुरुन्त कसैले उसलाई रोकेर नचल्ने आज्ञा दिए जस्तो पनि सुनिन्थ्यो । शुरुशुरुमा मैले वास्ता गरिनँ, तर त्यस चुलबुलीको चल्ने क्रम नरोकिएपछि पछाडि फर्केर हेर्न म बाध्य भएँ ।

त्यस बेला कुसुमा केही लाजले र केही डरले आमाको छातीमा आड लागेर रातो मुख लगाउँदै खिस्स हाँसेकी थिई । उसकी आमा मलाई हेर्दै मुस्कुराइरहेकी थिइन् । उसका बाबु पनि पारिपट्टिको सिटमा बसेर मलाई नै हेरिरहेका थिए । भने - "मेरी छोरी तिमीसँग कुरा गर्न चाहन्छे ।" अनि उनले कुसुमा र मेरोबीच दोभाषेको काम गरे । कुसुमाका आमाछोरी अंग्रेजी बोल्दैनथे । कुसुमाको पठ्यक्रममा अंग्रेजी विषय समाविष्ट त थियो, तर अभ्यास नभएकोले सामान्य अंग्रेजी बुझे पनि बोल्न सक्दिनथी ।

त्यस समयमा कुसुमाकी आमाले मलाई असाध्यै माया गरेकी थिइन् । आफैसँग राखेर खुवाउँथिन्, आफैसँग घुमाउँथिन् । कुसुमा र मलाई छुट्टिन दिन्नथिन् । कुसुमालाई उपहारको पसलमा लैजान्थिन् र उसले त्यहाँबाट मेरो लागि केही किनिदेओस् भनेर पैसा दिन्थिन् । उनैले मलजल गरेको मजबुत जगकै नासो हो कुसुमा र मेरो वर्षौं पुरानो यो नाता ।

केही दिनको सँगतले नै हामीलाई निकै आत्मीय बनाइसकेको थियो । उससँग बैंककमा छुट्टिनुपर्दा मलाई आथाह पीडाबोध भएको थियो । डर थियो, कतै एक-अर्काको आँखाबाट ओझेल भएपछि मनबाट पनि हराइने हो कि!

वर्षहरु बित्दै जाँदा कुसुमाले अंग्रेजी भाषा राम्रोसँग सिकी । मलाई समयसमयमा ईमेल पठाउन सक्ने भई । उसले मसँग फेरि भेटेर अंग्रेजीमा कुरा गर्ने रहर र प्रतीक्षा गर्दागर्दै ६ वर्ष बिते ।

पट्टाया नजीकको सत्ताहीप शहरमा एक बिहान नास्ता खाँदै गर्दा कसैले मलाई पछाडिबाट बोलाएको सुनें । ती भद्र महिलाले छोरीलाई बोलाउँदै भनिन् - "हेर् त कुसुमा, यहाँ को बसेको छ!"

मैले विश्वास गर्न सकिनँ, मलाई पछाडिबाटै चिन्न सक्ने ती ममताकी प्रतिमूर्ति अहिले मेरै सामुन्ने उभिएकी थिइन् । आमालाई मैले अभिवादन गरें । परबाट मेरो नजीकै आएर कुसुमाले मलाई नमस्तेको शैलीमा प्रणाम गरी, मैले उसलाई अँगालोमा बाँध्न चाहें ।

"तिमी कति दुब्लाइछौ, कुसुमा । याद छ, ६ वर्ष पहिले तिमी हात्ती जस्तै मोटी थियौ । म तिमीलाई चाङ (हात्ती) भनेर जिस्काउँथें नि!"

"ओहो, तिमी पनि त बाँदर जस्तै चकचके थियौ नि । त्यसैले त म तिमीलाई लिङ (बाँदर) भनेर बोलाउँथें ।"

त्यस दिन साँझ कुसुमा र मैले एकै टेबलमा बसेर भोजन गर्‍यौं । हामीसँगै अरु साना केटाकेटी पनि बसेका थिए । कुसुमा मलाई खाना थपिदिन्थी । हामीले एकै थालबाट खायौं, एकै गिलासबाट पियौं । भोजनस्थल विशेष आकर्षक थियो - समुद्रमाथि पुल हालेर बनाएको काठे घर जस्तो । खाँदै गर्दा सूर्यास्त भयो - त्यसको सौन्दर्यको के वर्णन गरौं!

हाम्रै टेबलमा बसेकी एक बच्चीले कुसुमा र मलाई पालैपालो हेरिरहेकी छ । उसलाई अचम्म लागेको छ, किन हामी एकछिनको लागि पनि अलग हुन सक्दैनौं । कुसुमा हाँस्छे मात्र । मतिर हेरेर भन्छे - "हेर है, अरु ठूला मान्छेले जस्तो रक्सी खाने होइन! नत्र तिमीलाई म त्यसै समुद्रमा मिल्काइदिन्छु ।"

"तिम्रो साथ पाउँदापाउँदै रक्सी किन चाहियो त?"

त्यस रात ऊ सुत्न गइसकेपछि उसका बाबुले केही साथीहरु जम्मा गरेर पिउने कार्यक्रम बनाए ।

"तर मलाई त पिउने कुरामा कुसुमाको निषेधाज्ञा छ ।"

"फरक पर्दैन । ऊ सुतिसकी ।"

"कर गर्नुहुन्छ भने म पनि नाइँ भन्दिनँ ।"

"नपिएर हुन्छ?"

सुरापान गरिँदै थिइयो, बाबुको खोजी गर्दै पाइजामामा कुसुमा टुप्लुक्क देखा परी ।

"हेर बदमाश, पिउँदिनँ भन्नेको हातमा त्यो रातो झोल! अघि खाना खाएकै समुद्रमा भेटेको भए जानेकी थिएँ!"

हिस्स बूढी खिस्स दाँत ।

"बिराएँ मेरी मा! एक चोटिलाई माफ गरिदेऊ ।"

भोलि पल्ट कुसुमाले मलाई कालो चुच्चेटोपी उपहार स्वरुप दिई । अनि कागजको एक टुक्रा पनि, जसमा उसको फोन नम्बर लेखिएको थियो ।

"म तिम्रो फोन कुरेर बस्नेछु । मलाई जुन बेला कल गरे पनि हुन्छ । अप्ठ्यारो मान्नुपर्दैन ।"

बिदाइको घडीमा कुसुमा र म एक चोटि मायाको बलिष्ठ अँगालोमा कसियौं । आमाले पनि अँगालोमै बिदा दिइन् र हामी छुट्टियौं फेरि भेट्ने आशामा ।

त्यसपछि मैले कुसुमाका मायालु आमाछोरीलाई नसम्झेको होइन । ती दुईको सम्झनामै रात छर्लङ्ग भयो । लाग्यो, यस भूमिबाट तिनले जस्तो हार्दिक बिदाइ मलाई अरुले गर्न सक्दैन ।

होटेलमा नास्ता खाँदा मसँग दुइटा कुपन थिए । एउटा त्यसै खेर जाँदा मैले फेरि कुसुमालाई सम्झें । त्यहाँको अमेरिकी खाना उसलाई मनपर्थ्यो-पर्दैनथ्यो, थाई खानाको सँस्कारमा हुर्केकालाई विदेशी खानाको स्वादै अनौठो । फेरि उसलाई मोटाइएला भन्ने त्यस्तै पीर! होटेलबाट विमानस्थल जाँदै गर्दा, ट्याक्सीमा एक्लै पर्दा, मैले फेरि कुसुमालाई सम्झें । ऊ भइदिएकी भए पक्कै पनि बाटो कटेको थाहा हुँदैनथ्यो ।

तर बिग्रेको केही छैन । अहिले ऊ मेरो टेलिफोन सम्पर्कमा छे ।

"कुसुमा, अहिले म दोन मुअङको टर्मिनल १ मा छु । ८:३० तिर थाई एअरको गेटमा आइपुग । म तिमीलाई त्यहीं कुरिरहनेछु ।"

"आमा र म त्यहीं आइपुग्छौं ।"

बाँकी समय म अरु थाई साथीहरुलाई फोन गर्दै बिताउँछु । सबै मलाई यात्राको लागि शुभकामना दिन्छन् र नेपालको स्थिति छिट्टै सप्रिने आशा देखाउँछन् ।

त्यसपछि कुसुमालाई दिने केही उपहार भेटिन्छ कि भनी करमुक्त पसलहरु चाहर्दछु । ८:१५ मा कुसुमाका आमाछोरी देखा पर्छन् । म तिनीहरुलाई पछाडिबाटै चिन्छु र तिनीहरुले चाल नपाउने गरी तर्साइदिन्छु ।

"कुसुमा, यहाँसम्म मेरो लागि आमा र तिमी आइदियौ । यो गुन म भुल्ने छैनँ ।"

"तिमीलाई भेट्ने रहरले यहाँसम्म डोर्‍याएको भन्नुपर्‍यो । बरु तिमी यहाँबाट किन त्यति टाढाको होटेलमा बस्नुपरेको नि?"

आमा हाम्रो लागि पिउने कुरा ल्याइदिन्छिन् । म उनीहरु दुवैलाई आफ्नो लामो बसाइको रोचक अनुभव सुनाउँछु । उनीहरु मेरो थाई भाषाको काफी प्रशंसा गर्छन् ।

"६ वर्षअघि कुसुमा कति मोटी थिई है आमा ? अहिले त कति पातली र राम्री भएकी, मोडेल जस्तै!"

आमा हाँस्छिन् । छोरी खुशी भएर "खप खुन खा (धन्यवाद)" भन्छे ।

"अर्को चोटि तिमी बैंकक आउँदा आमाले तिम्रो लागि आफ्नै हातले भोजन तयार गर्ने रे । अनि तिमीलाई नगरबस चढाएर बैंकक शहर घुमाउने पनि रे ।"

"त्यो दिन छिट्टै आओस्, आमा!"

हामीसँग करीब डेढ घण्टा समय छ । त्यस अवधिमा म मेरो थाई मुद्रालाई डलर बनाउँछु । कुसुमा किन त्यसो गर्नुपरेको बुझ्दिन । बचेको थाई पैसा उसको हातमा थमाइदिन्छु ।

आमा मलाई सुनौलो स्तुपको सानो मूर्ति उपहार स्वरुप दिन्छिन् ।

"म यसलाई शोकेसमा सजाएर राख्नेछु, आमा । असाध्यै राम्रो छ ।"

बदलामा उनलाई चियङ माईबाट ल्याएको लकेटको चिनो दिन्छु । कुसुमालाई चियङ माईमै खिचेको तस्वीर दिन्छु ।

"तिम्री आमाको उमेर कति भयो?" आमा सोध्छिन् ।

"५० ।"

"म पनि ५० वर्ष नै भएँ । आमालाई मेरो सम्झना सुनाइदेऊ है?"

यिनको स्नेहले मेरो अन्तर्मन छोयो । यिनै स्नेहकी प्रतिमूर्तिकी छोरी भएर नै हो कि कुसुमा त्यति मायालु भएकी!

समयको चक्र कसले रोक्न सक्छ? नचाहँदा-नचाहँदै छुट्टिने बेला आइपुग्यो । कुसुमाले मलाई एउटा खाम दिई ।

"अहिल्यै खोलूँ?"

"नाइँ! पछि एक्लै भएको बेला खोलेर हेर ।"

"ठीक छ, त्यसो भए ।"

अब अन्तिम चोटि हाम्रा छातीहरु जोडिए । पुनर्मिलनको आशामा हाम्रा ढुकढुकीहरु अलग भए । कुसुमा र आमाले एकै ठाउँबाट बिदाइको हात हल्लाउँदै मलाई अदृश्य नहुन्जेल हेरिरहे । पछाडि फर्केर हेर्दा महसुस भयो, बिछोडको पीडामा छाती भक्कानिएछ, गला अवरुद्ध भएछ, गह भरिइसकेछन्, नजर धमिलिइसकेछ ।

कुसुमाले दिएको खाम खोलें । बुट्टेदार कार्डमा लेखिएको थियो:

"प्यारा, तिमीलाई थाई सम्वत् २५४९ को धेरै शुभकामना । यस पालिको नयाँ वर्ष अर्थात् सोंक्रान पर्व मनाउन तिमी चियङ माई आयौ । रमाइलो भयो होला, हैन? तर म पनि तिम्रो साथमा हुन पाएको भए झनै रमाइलो हुने थियो । सोंक्रान हर्षोल्लासको चाड हो, माया गर्नेहरुको चाड हो । यस वर्षको सोंक्रान मैले भिक्षुणी अवतार धारण गरेर मन्दिरको सुनसानमा बिताएँ । तर बुझ्यौ, अर्को सालको सोंक्रानमा पनि तिमी यहाँ आउनुपर्छ । अनि हामी सँगसँगै पानी छ्यापाछ्याप गरेर सोंक्रानमा रमाइलो गरौंला । मेरो बचन तिमीलाई!

यसै खामभित्र मेरा तीन तस्वीरहरु छन् । यिनलाई जतन गरेर राख्यौ भने तिमी कहिल्यै एक्लो पर्ने छैनौ, तिमीलाई कहिल्यै साथीको अभाव हुन पाउने छैन ।

शुभ यात्रा!

तिम्रै सुखदु:खकी सहचारी, कुसुमा ।"

***
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छु उति हिस्सी लाग्छ
अँध्यारो रात बीच तारा पिच्छे घुम्छ
जुनेलीमा जूनसितै ओर्ली मुख चुम्छ

एकलास ठाउँमा त्यो साथी मेरै बन्छ
आधारातमा ब्युँझे पनि सिरानमै हुन्छ
प्रभातको मिरमिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आइपुग्छ

बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यही आशा बन्छ
खोकिलामा हाल्छु जसै मुटुभित्रै पुग्छ
जति टाढा पुग्छु सधैं नजीक त्यही हुन्छ

2 comments:

Anonymous said...

mero computer ma ta sabai titarbitar bhayera aauchha...padhnai milena yar.

Anonymous said...

internet explorer use gara na saathi.

...